कविता : आमाको पवित्र संसारमा

आनन्दराम पौडेल

हाम्री आमालाई तिनीहरुले चिनेनन्
नचिनेकै बेस भयो
यो माखेसाङ्लोमा उल्झन परेन
अरु त अरु
राज्यले समेत् खोजखबर गरेन
जनगणनामा उनको नाम थिएन
सम्पति नभएकोले 
नागरिकताको जरुरत रहेन
स्कुल नगएकोले सर्टिफिकेट बनाउन परेन
जागीर नभएकोले उमेर मिलाउन परेन
हुन त एउटा देश थियो
देशभित्र हाम्री आमा थिइन्
आमाकै नाममा एउटा सरकार थियो
त्यहाँ ठूलो बिडम्बना थियो
न त आमाले सरकारको आभाष पाइन्
न त सरकारले आमाप्रति दायित्वबोध गर्यो
दुबै सधैंसँगै रहे
सधैं अपरिचित रहे
एउटा सरकार यतै कतै हुनुपर्छ भनेर
आमाले कहिल्यै सोचिनन्
आमा बिना दुनियाँ बन्दैन भनेर
सरकारले हेक्का राखेन
मायालु श्रष्टा भएकीले मात्र
आमा पवित्र भएकी थिइनन्
तिनले अड्डाअदालत टेकिनन्
सरकारी कागजमा सहीछाप गरिनन्
राजकीय दाउपेच र षडयन्त्रका गन्ध
तिनको नाकभित्र पसेन
सरकारका हैकमी स्वर 
तिनको कानमा परेन
राज्यको बिषाक्त असरबाट मुक्त रहेकीले
आमा बिशुद्ध रहिन्
प्राकृतिक समाजमै रहेकीले
तिनी पवित्र रहिन्
कतै नअल्झेको सरल रेखाझैं बाँचेकीले
आमाको अर्को नाम छैन भन्दाभन्दै
यो ऐतिहासिक घडीमा
चौरस्तामा बाटो छेकेर बसेको
कालो डरलाग्दो सरकारी सिपाही
औंलो ठड्याएर
हाम्री आमाको नाम सोधिरहेछ
आमाको पवित्र संसारमा
यो सरकारी घुसपैठ
हाम्लाई असह्य भैरहेछ।
 

ad

प्राप्त प्रतिकृयाहरू

अशोक खराल लेख्नुहुन्छ (२०७८ बैशाख २८ मंगलबार ६:५८ pm )

यस्ता कविता पढ्दा मनमा आनन्द आउँछ । कविलाई सलाम

रमिला अधिकारी लेख्नुहुन्छ (२०७८ बैशाख २८ मंगलबार ६:५२ pm )

राम्रो अंश .....आमा पवित्र भएकी थिइनन् तिनले अड्डाअदालत टेकिनन् सरकारी कागजमा सहीछाप गरिनन् राजकीय दाउपेच र षडयन्त्रका गन्ध तिनको नाकभित्र पसेन सरकारका हैकमी स्वर तिनको कानमा परेन राज्यको बिषाक्त असरबाट मुक्त रहेकीले आमा बिशुद्ध रहिन्

राम थापा लेख्नुहुन्छ (२०७८ बैशाख २८ मंगलबार ६:४८ pm )

वाह.... कविता .... आमाकै नाममा एउटा सरकार थियो त्यहाँ ठूलो बिडम्बना थियो न त आमाले सरकारको आभाष पाइन् न त सरकारले आमाप्रति दायित्वबोध गर्यो दुबै सधैंसँगै रहे सधैं अपरिचित रहे

गोपालजी लेख्नुहुन्छ (२०७८ बैशाख २८ मंगलबार ६:४६ pm )

आमाको पवित्र संसारमा यो सरकारी घुसपैठ हाम्लाई असह्य भैरहेछ। आनन्दराम पौडेल सर अति राम्रो कविता ।

Ananda Ram Paudel लेख्नुहुन्छ (२०७८ बैशाख २८ मंगलबार ६:३५ pm )

धन्यवाद, ठाकुर बेल्वासेजी। धेरै-धेरै धन्यवाद।

Ananda Ram Paudel लेख्नुहुन्छ (२०७८ बैशाख २८ मंगलबार ६:३४ pm )

धन्यवाद, ठाकुर बेल्वासेजी। धेरै-धेरै धन्यवाद।

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै