अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता शुरु

खोटाङ : किरात राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता शुरु गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत खुला विश्वव्यापी बिनायो प्रतियोगिता शुरु गरेको हो ।

लोपोन्मुख बनेको बिनायो बाजाको संरक्षण, सम्वर्धन गर्दै युवा पिँढीमा हस्तान्तरण गर्ने उद्देश्यले बिनायो वादन प्रतियोगिताको आयोजना गरिएको किरात राई सांस्कृतिक कलाकार सङ्घका सचिव पदम थुलुङले बताए ।

ad

उनले भने, ‘कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै भर्चुअल कार्यक्रममा बिनायोको धुन बजाएर विश्वव्यापी अनलाइन बिनायो वादन खुला प्रतियोगिताको शरु गरिएको छ ।’  प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ ।

सचिव थुलुङका अनुसार पहिलो चरणमा इच्छुक प्रतियोगीले बिनायो बजाइरहेको भिडियो असार १० गतेभित्र आयोजकलाई पठाइसक्नुपर्ने छ । छनोट भएका भिडियो सङ्घको युट्युब च्यानलमा अपलोड गरिने आयोजकले जनाएको छ ।

पहिलो चरणमा छनोट भएकामध्येबाट पुनः दोस्रो चरणमा पनि बिनायो बजाइरहेको ओरिजिनल भिडियो आयोजकलाई उपलब्ध गराउनुपर्ने जनाइएको छ । दोस्रो चरणमा उपलब्ध भएको भिडियोको आधारमा फाइनल प्रतिस्पर्धा हुने सङ्घले जनाएको छ ।

बिनायो बजाएको भिडियो कम्तीमा दुई मिनेटको हुनुपर्ने र हरेक भिडियो अडियोसहितको हुनुपर्ने शर्त छ । प्रतियोगितामा जुनसुकै मुलुक र जुनसुकै समुदायका प्रतियोगी सहभागी हुन पाउनेछन् । प्रतियोगिता आगामी असारको अन्तिम साता समापन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः १६ हजार, १० हजार र सात हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको संयोजक रोशन चाम्लिङ राईले बताए । कार्यक्रममा किरात राई सङ्गीत सम्मान अक्षयकोषका लागि दुई लाख २२ हजार २२२ रकम सङ्कलन भएको जनाइएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै