आनन्दराम पौडेल | [email protected]

 हे अगस्त्य मुनि, अब म ब्रह्मलूट गरेर नेपाललाइ निचोरिरहेको बिषयमा प्रकाश पार्दछु; ध्यानदिएर सुन।असार ४ गते शुक्रबारका दिन स्विस बैंकले एउटा प्रतिवेदन प्रकाशित गर्यो। सो अनुसार नेपालका नेता र प्रशासकहरूले राष्ट्र लुटी अवैध आर्जनगरेर स्विस बैंकमा लुकाएर राखेको कालो धनको मौज्दात १ बर्षमै २२ अरबबाट ४६अरब पुगेछ। आयल निगमको लागि जग्गा खरिद गर्दा हाक्काहाक्कि भक्षणगरेको १ अरब ९५ करोड, वाइड बडी जहाज खरिद गर्दा ठाडै खाएको ४ अरब ३५ करोड, न्यारो बडी जहाज खरिद गर्दा हातलगाएको १ अरब २६ करोड जस्ता ब्रह्मलूटका बिषय त जगजाहेर नै थियो। यति होल्डिङ्स,

ad

ओम्नी समूहलगायत मार्फत् भएगरेका ब्रह्मलूट आँकलन गर्दा धेरै नै लुटेको हिसाब निक्लन्छ।

    भ्रष्टाचार नियन्त्रणका लागि ऐननियम मात्रै कडा भएर नपुग्ने रहेछ, सँगसँगै यस्का अन्य पक्षहरुपनि त्यत्तिकै प्रभावकारी र कृयाशील हुनुपर्दोरहेछ। ऐनकानुन मात्रै कडा बनाएर हुनेभए नेपालमा भ्रष्टाचार नियन्त्रण उहिल्यै भैसक्नुपर्थ्यो। भारतमा भर्खर केही

बर्षअघि लोकपाल ऐन बन्यो, तर नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बैधानिक हैसियतमा छ र २०५९ सालको कानुनले पर्याप्त अधिकारपनि प्रदान गरेको छ। भ्रष्टाचार नियन्त्रणको लागि यत्रो ब्यवस्था भएको नेपालमा ट्रान्स्पेरेन्सी इन्टरनेशनल र अन्य अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदन अनुसार भ्रष्टाचार झन्-झन् कहालिलाग्दो भएर बढेको छ। कीर्तिमान कायम गर्दै अहिले नेपाल संसारकै भ्रष्ट मुलुकमध्ये एक र दक्षिण एशियाको सर्वाधिक भ्रष्ट मुलुक बन्न पुगेको छ। सन २००८ सम्म भ्रष्टाचारमा क्रमिक विकास गर्दै १२१औं स्तरमा पुगेको नेपाल सन २००९मा छलाङ मारेर १४३औं स्थान ओगट्न पुगेको छ।

भारतमा प्रधानमन्त्री कार्यालय अन्तर्गत राखिएको विभागस्तरको अड्डा सिविआइले भ्रष्टाचार नियन्त्रणका चुनौतिपूर्ण कार्य गर्न सकेको, तर नेपालमा सम्बैधानिक आयोगले केहि गर्न नसकेको स्थितिको तुलना गर्दा कानुनी ब्यवस्था मात्रैले नपुग्ने रहेछ भन्ने पुष्टी हुन्छ ।

अमेरिकामा वसेका नेपालीहरुले २०४८ सालमै राजपरिवारले विदेशी बैंकमा लुकाएर राखेको धन खोतल्ने निर्णय गरेका थिए। नेपाल सरकारको सहयोग चाहिने भएकोले नेपाल आएर गिरिजाप्रसाद कोइरालालाइ भेटेका पनि हुन्। गिरिजाकै अनिच्छाका कारण त्यो अगाडी बढेन। दरबार हत्याकाण्डको पर्सिपल्ट अर्थात् २१जेठ २०५८मा लण्डनबाट प्रकाशित हुने “दि टेलिग्राफ”ले रानी ऐश्वर्यले स्वीट्जरल्याण्डका ब्याङ्कहरुमा १३अरव स्टर्लीङ्गपाउण्ड जम्मा गरेकी छिन् भनेर लेखेको थियो। त्यस्को खोजविन होस् भनेर कसैले आवाज निकालेन।

२०६३ सालमा विशेष अदालतका न्यायाधीशहरु भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र राणाले नेपालका ढाडी भ्रष्टाचारीहरुलाइ चोख्याउन गहुँत र तिलानीको जल छर्किरहँदा त्यस्को विरोधमा सिस्नुपानी नेपालबाहेक कुनै नेपाली सपुतले मुख खोलेन। यहाँ एउटा प्रश्न खडा भएको छ, के नेपालीहरु भ्रष्टाचारको विरुद्धमा छन् ? भ्रष्टाचारीलाइ घृणा गर्छन् ? भ्रष्टाचारविरुद्ध जनमत तैयार भैसकेको छैनभने स्वयं अन्ना हजारे नै खडा भएपनि साथ दिने जनता हुने छैनन्।

अन्ना हजारेको खोजी गर्नेहरुले नेपालमा भ्रष्टाचारलाइ संस्थागत गरिएको र सामाजिक स्वीकृति मिलेको बिषयलाइ बुझ्नुपर्छ। गाउँबस्तीमा भ्रष्टाचारीले क्ललाइ चन्दा दिन्छ, उस्लाइ प्रमुख अतिथि बनाएर शीर्षासनमा राख्छन्। उस्ले पुरस्कार कोष स्थापना गर्छ, पुरस्कार थाप्न कुद्छन्। पब्लिक कन्ज्युमका लागि भ्रष्टाचारविरुद्ध बोल्छन् र लेख्छन् तर आफ्नी छोरीको बिवाह गर्नका लागि पाएसम्म गोविन्दराज जोशीकै छोरालाइ रोज्छन्

सभामा भ्रष्टाचारको विरुद्ध भाषण छाँट्छन्, तर छोरा, भतिजा, भाञ्जा र ज्वाईंलाइ भन्सार, कर र मालपोतमा पठाउन सोर्सफोर्स लगाउँदै हिंड्छन्। ठाउँमै पुगेरपनि कमाउन नसक्नेलाइ हुतिहारा, नामर्दको संज्ञाले विभूषित गर्छन्। जुन देशका राजनीतिक पार्टीहरु, माओवादी शैलिमै जवर्जस्ती असुलीको भरमा सञ्चालित छन् र हिसाव पारदर्शी छैन, त्यो देशमा अन्ना हजारेको खोजी भएको होला भनेर कसरी पत्याउनु ? जुन देशमा मूल्य निख्रिसकेको छ र नैतिकता हराइसकेको छ,त्यहाँ अन्ना हजारे जन्मेछन् भनेपनि त्यस्लाइ अनौठो जीव ठानेर अजायव घरमा राख्ने छन्।

नेपाली जनताको आम प्रवृत्ति के छभने, केही ब्यक्तिले भ्रष्टाचार गरे, अवैध कमाइ गरे त्यत्तिन हो भन्छन् र भ्रष्टाचारलाइ सामान्यिकरण गर्छन्, तर यस्को चेनरियाक्शन र यस्ले पार्ने गम्भीर असरप्रभावको बिषयमा ख्याल गर्दैनन्। रातारात धनी बन्न पुगेकाहरुको सफलताको रहस्य कोट्याउँदैनौं। प्रसिद्ध आख्यानकार बाल्जाकले “दि रेड इन” नामक कथा र “ला मैजों नुसिंजेन” नामक उपन्यासमा, पूँजीवादी समाजमा अवैध माध्यम नअपनाई र नैतिकता र नीतिशास्त्रका मानकहरु नकुल्चिई कोही पनि रातारात धनी हुन सक्दैन भनेर दावाकासाथ ठोकुवा गरेका छन् ।

भ्रष्टाचारले ब्ल्याकमनि थुपार्छ। राष्ट्रिय आयमा बेइमानले कब्जा जमाउँछन् र इमान्दारको हिस्सा न्यून हुन्छ। राष्ट्रिय पूँजी निर्माण असम्भव हुन पुग्छ। बितरण अस्वाभाविक र असन्तुलित बन्दै जान्छ। राष्ट्रिय आयको अधिकांश हिस्सा छट्टु र धूर्तहरुको हातमा पुग्छ। यस्तो कमाईलाइ वैध कारोवारमा लगाउन नसकिने भएकोले अवैध धन्दा ह्वात्तै बढ्छ। आर्थिक जीवनको हर क्षेत्रमा तस्कर, माफीया र डनहरुको हालिमुहाली मात्रै हुँदैन उनीहरुकै जवर्जस्तीको समानान्तर सत्ता कायम हुन्छ।

राष्ट्रिय सुरक्षामा आँच आउँछ। अवैध आयलाई  उरलधुरल खर्चिने भएकोले उपभोक्तावादी संस्कृति ब्याप्त हुन्छ। अर्थतन्त्र चौपट् हुन्छ। आर्थिक विषमताको खाल्डो गहिरिंदै जान्छ।  राष्ट्रिय चरित्रको पतन हुन्छ र राष्ट्रिय स्वाभिमान मलिन हुन्छ। धनलाइ जीवनको मापदण्ड बनाएपछि जीवनका सार्थकता, सभ्यता, संस्कृति, मूल्य र मान्यता किनारा लाग्छन्

 सदाचारीहरुको खोजी र सम्मान गर्नु पनि भ्रष्टाचार नियन्त्रणको अर्को पाटो हो। मरुभूमिमा एक ग्लास पानी भेटिए सरी सिला खोज्दा भेटिएका सदाचारीलाइ समाजले खोजखवर लिएको देखिंदैन। राजनीतिक पार्टीहरुले एउटा आस्था र निष्ठामा अडीग रहेर जीवनभर संघर्ष गरेका दिगेन्द्र राजवंशी र दयाशङ्कर मुन्शी(नेकाका संस्थापक)हरुलाइ जीवनको अन्तिमसम्म किनारा लगाएरै राखेका, शिवप्रसाद कङ्गालहरुलाइ कुनातिरै फालिराखेका, तर २०\२५लाख चन्दा दिएबापत डिबि लामाहरुलाइ शीर्षासनमा राखेका दृश्यहरु मात्र देख्नुर्दा यसैलाइ स्वाभाविक मान्नुपर्ने स्थिति बनेको छ। खोजी गर्ने होभने नेपालमा अन्ना हजारेहरु प्रसस्त फेला पर्छन् तर किनारा लगाइएका छन्, त्यत्ति हो।

ईति श्रीस्कन्ध पुराणे, हिमवत् खण्डे, नेपाल महात्म्ये, भ्रष्टाचार वर्णनोध्याय समाप्तम् शुभम्।

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै