जातीयताको गहिरो खाडलमा पाइएको आत्मसन्तुष्टी

वाग्लुङ शहरबाट दक्षिण पश्चिममा पर्ने सीगाना गाविस जान खास तयारी पनि गरिन । तीन दिनको बसाईको लागि चाहिने कपडा सहित तालिम सामाग्री बोकेर हिंडे म । भोलीदेखि त्यहाँको लामाचौरमा तालिम संचालन गर्नुछ । घाम रापिलो छ आज । अपरान्हतिर म बजारबाट बाहिरिए । म यात्राका रमाईला सप्तरंगी रंगहरुमा रंगिन चाहान्छु जहिल्यै । आजको मौसम खुलेको छ र त यसले प्रकृतिको सौन्दर्यमा निखार ल्याएको छ । मेरो विस्फारित आँखा यहि सौन्दर्यको नजरमा ब्यस्त भएर डुल्दैछ । 

मेरो हिंडाईमा हतारोको मात्रा कम छ । काठेखोलाको पुल तरेर उकालो प्रारम्भ भयो । उकालोमा मेरो हिंडाई मन्द हुने नै भो । हेर्दैछु दाँयावाँयाका प्राकृतिक दृष्य । वस्दै उक्लँदै बस्दै उक्लदै । करिव वजारवाट डेढ घण्टा उक्लिएपछि दिनानाथ गौतम सरको गाँउ आँउछ सीगाना । बाक्लो बस्ती छ । दीनानाथ गौतम । नेपाल रेडक्रस सोसाइटी बाग्लुग जिल्ला शाखाका कार्यसमिति सदस्य तथा दैवी प्रकोपका संयोजक हुन । उनी सीगाना माध्यामिक विद्यालयमा अध्यापन गर्छन् । आज मेरो बास उहाँकै घरमा हुने छ ।

ad

मुसुक्क मुस्कुराएकी छे धरती । वृक्षहरु प्नि चलायमान जस्ता लाग्छन् । यो धरतीको मनोरम परिदृष्यमा मन्त्रमुग्ध नहुने को होला । अकस्मात बतासले साउती गर्यो है चिसो महसुस भयो । उक्लिदै गर्दा वाटो छेकेर बसेको हाडेबेडु जस्तै लाग्ने काँडैकाँडा भएको ठूलो हाँगाले बाटो छेकेर बसेको रहेछ । कस्तो चलन छ है कैयन मान्छे बजार झर्दै गरेको भेटेकै हुँ मैले । तर त्यो हाँगा पन्छाएर आफु पार भएपछि फेरी त्यहिं राखिएको जस्तो पो छ । मैले झोला विसाँए । त्यो हाँगा पन्छाएर छेउ लगाइदिए र माथितिर उक्लिएँ । मान्छेको आवगमन कम छ । एकजना महिला पिठ्युँमा मजेत्रो बेरेर सुर्किनो बनाई त्यसमा बच्चा बोकेर तल्तिर झर्दै छिन् । उनको हिंडाइको तरिका हेर्दा हतारोमा देखिन्छिन् । खच्चडको हुल रेछ मेरो अघि। डडाल्नुमा सकिनसकि गह्रुँगो भारी टनक्क कसिएको छ । विस्तारै उक्लँदै छन् । तिनीहरुको पछि दुई जना मानिसहरु हातमा लौरो लिएर हिंडेका छन् । बाटोमा अल्मलिन खोज्ने खच्चडलाई लौरो बर्षाउँदै छन् । म अलिक साइड लागेर अघि बढ्छु । अलिक माथि वाटोको दाँयावायाँ केही घरहरु भेटिन्छन् ।आर्मीको गस्ती उभो लागेको छ । के गर्ने? देशमा सशस्त्र द्धन्द चर्किएकै छ । मरे र मारेको खवरले रेडियो र अखवारका पाना भरिएका छन् । पहिले पहिले त डर लाग्थ्यो मलाई ।अहिले त अभ्यस्त भैसकें । घरका आँगनमा फुलेका फुलको बास बाटोसम्म छरिएको छ । गाँउ सुन्दर छ । सदरमुकाम कति रमाईलोसँग हेर्न सकिन्छ यहाँबाट । तर त्यो सुन्दर गाँउ र बस्ती,पाखा र बारीहरु फुंग उडेका छन्। उजाड छन् निस्सर लाग्दो ।नलागुन पनि किन जतातै भय र सन्त्रासले आसन जमाएको छ । हाम्रो वर्तमान कति विवश छ हगी कोलाहल देख्नु र हुँकार मात्र सुन्नुपर्ने । आतंकको निर्दयी प्रहारको वीचमा रम्नुपर्ने । थाहा छैन् कहिले र कहाँ गएर अस्तित्व सकिन्छ हाम्रो । मन बेचैन हुन्छ ।

बाटोमाथिको घरबाट एकजना अर्धबैश्य बा देखिए । मैले दीनानाथ गौतमको घर कुन हो भनेर सोधें । उनले केहि बोलेनन् । मैले दोहोर्याउन चाहिन । मैले सहजै अनुमान लगाएँ नौलो मान्छेलाई केहि भन्नुहुन्न भन्ने मानसिकता भएको बर्तमान विषम समय । अलिमाथि गएपछि देव्रेतिरबाट आएको सानो गोरेटो बाटो त्यहिं जोडिदो रहेछ । दुई जना विद्यार्थी पोशाकमा झोला भिरेका केटाकेटी आएर मसँगै माथितिर लागे । मैले उनीहरुलाई पनि सोधें । केटाले हाम्रो भन्दा माथ्लो घर हो भने पछि म उनीहरुसँगै गएँ । घरको आँगनमा नपुग्दै सरलाई देखें । नमस्कार आदनप्रदान भयो । गुरुआमा,महेश र उनकी बैनी गरी चार जनाको सानो परिवार रहेछ । उज्यालो होउन्जेल आँगनमा बसेर गफियौं । खाना खाएर छिट्टै सुतियो । 

विहान सवेरै उठें । पण्डितको घरमा विहान पूजापाठ नहुने कुरै भएन । दिनानाथ सर अलिक आधुनिक पाराका थिए । तर घरमा पुजाआजा त सामान्य हुने नै भयो । चिया पिएर म र दिनानाथ सर उकालो लाग्छौं लामाचौर तिर ।उनी असाध्यै सहज लाग्छन् मलाई । उमेरमा मेरो बा कै उमेरका । उनी सबै कुरा खुलस्त गर्छन् मसँग । हामी उनको घरबाट  माथि देब्रेतिर उक्लिन्छौं । एउटा खोल्सो अाँउछ । अनि बस्ती सकिएर जंगलको बाटो हिड्छौं हामी । हरियाली जंगलले मलाई मोहित गर्छ । म रमाउँछु यो हरियाली प्राकृतिक सुन्दरताको सानिध्यतामा हुन पाँउदा । अघि वढ्दै छौं निरन्तर । जंगल हेर्छु आकाश छोए जस्तो लाग्ने अनि पहाडको थुम्कोमा बादलका वुट्टाहरु अल्झिएको जस्तो लाग्ने यो दृष्यले तान्छ मलाई । आल्हादित बनाँउछ मन मेरो । सम्झन्छु हाम्रो प्रकृतिमा के छैन् सबै छ । छैन त केवल हाम्रा  नेताहरुमा सकारात्मक सोच र देश बनाउने इच्छाशक्ति ।सौन्दर्यको खानी हो नेपाल ।स्वर्गबाट झरेको टुक्रा जस्तो छ मेरो देश । तर अहिले राजनीतिक गोलचक्करमा परेर विद्रुप पारिदैछ । सम्झन्छु पीडा हुन्छ । एकनास टोलाउँछ मन । दैनिक हिंसा र हत्याका सृंखला सम्झेर उद्वेलित हुन्छ मन । एक लस्कर मान्छेहरु नजिकैबाट झरे । दीनानाथ गुरु नमस्कार भन्दै । विचार्दै छु सबका सब युवा । गाँउमा बस्ने परिस्थिति नभएर सायद अरवका खाडीहरुमा पलायन हुन शहरतिर पसेका होलान । प्रत्येकको हात वा काँधमा झोला छ । ती पौरखी हातहरुले बाँच्ने जिजिविसामा रगत र पसिना प्रबासमा बेच्ने होलान । मन खिन्न र गह्रुँगो भारी जस्तै बन्छ । यी जीवन र जगतका प्रतिविम्बित दृष्यहरु देखेर म मा बचेखुचेको उत्साह पनि मर्छ र ओइलाँउछ मेरो शरीर । म नजिकै तेर्सिएको ढुंगोमा शरीर बिसाँउछु । म थाके भन्ने ठानेर दीनानाथ सर पनि बस्छन् ।

दीनानाथ सरकोबाट करिव पैतालिस मिनेटपछि लामाचौर पुग्छौं ।आहा,कति लामा लामा र फराकिला बारीका पाटाहरु ।बस्ती पनि वाक्लै छ ।दीनानाथ सरका अनुसार तलतिर परियार (कथित दलित)हरुको बस्ती छ भने माथितिर विश्वकमा (कथित दलित)हरुको बस्ती छ । हामीलाई कुरेर बाटोमै बसेका रहेछन् पदम नेपाली । उनी हाम्रो कार्यक्रमका त्यहाँका सामुदायिक कार्यकर्ता हुन् । यो समुदायमा गरिने गतिविधिमा उनले मलाई सहयोग गर्छन् ।उनले मेरो झोला बोके । हामी विद्यालयतिर लाग्छौं । लामाचौर प्रा.वि. पछाडी बाँदर लड्ने भिर छ । विद्यालयको भवन देखेर रुन मन लाग्छ । पैतालिस जतिले पढ्ने गर्दारहेछन् यहाँ । नेपालमा सामुदायिक विद्यालय भवनको हालत त्यसमा पनि विकट जिल्लामा । खानाको लागि हामी अलिक माथि रहेको के.सी.दाईको पसलतर्फ लाग्छौं । चाउचाउ बनाउन लगाएर खान्छौ । 

निर्धारित समयभन्दा धेरै ढिला झण्डै वाह्र बजे सहभागीहरु ज्ुाट्छन् । कार्यक्रमको उद्घाटन दीनानाथ सरले गर्छन् संचालन पद्म नेपालीले । त्यसपछि दिनानाथ सर मलाई यो समुदायमा बास बस्न समस्या पर्नसक्छ त्यसैले गाह्रो भए पनि उहाँकै घरमा झर्न आग्रह गरेर विदा हुन्छन् ।हामी तालिम सुरु गर्छाैं । सहभागी पच्चीस जना महिला र पुरुष छन् । जातीय रुपमा विश्वकर्मा र नेपाली दुई थर (कथित दलित)हरुको बसोबास मात्र रहेछ यहाँ । यो विद्यालयमा पनि त्यही दुई जातका बच्चाहरुको बाहुल्यता छ रे । खाजा के खाने भन्ने कुरामा पनि समस्या भएकोले काँचो चाउचाउ र विस्कुट खाने सहभागीहरुको निर्णय भयो  । खाजा समयमा मैले पदम नेपालीलाई बेलुका मलाई बास बसाउन सकिन्छ कि नाईं भनेर सोध्दा उनकोमै ब्यवस्था गर्ने भने । गजबको कुरा त पिउने पानी पनि दुई अलग अलग वाल्टिनमा ल्याइयो । पहिलो दिनको तालिम सकियो । सबै आ आफ्नो घरतिर लागे । मलाई दीनानाथ सरको घरसम्म जान डर पनि लाग्यो । झम्के साँझ सुरु भैसकेको थियो । उसमाथि समय र परिस्थिति प्रतिकुल थियो सशस्त्र द्धन्दको समय । जंगलको बाटो । मैले पदम नेपालीलाई उनको घरमा बस्न जाने भने । उनी अलिक अल्मलिए । टाउको कन्याउँदै जहानलाई के के कानेखुशी गरे । हामी झरेउँ ।

सानो तर भर्खरै बनेको घर । कुखुरीहरु चल्लाहरुलाई बरिपरि लाँउदै बास तिर पस्दैछन् । अगेनामा आगोको धुँवाको मुस्लो छ । केही पाक्दैछ ।वच्चाहरुको आची यत्रतत्र देखिएको छ । कुखुरी त्यहि आची खाँदैछे । पर कुनामा थाँग्नाहरु थुपारिएको छ । यता कुनामा ओछ्यान देखिन्छ । अनि ढोकासंगैको कुनामा कुखुराहरुको निम्ति खोर । विचमा एउटा बेन्च र लुगा सिउने कल । हे भगवान कस्तो ठाँउमा आइपुगे म ।पद्म नेपाली बाग्लुँग जिल्लाकै पहिलो आइ.ए. पास भन्थे दीनानाथ सरले । घरको वातावरण देख्दा त्यस्तो लागेन । अझ उनी त कतार र दुवई पनि बसेका रे ।

‘सर शिकार चल्छ नि है ?’पदमले मलाई सोधे ।

मैले सकारात्मक मुल्टो हल्लाँए । 

उनी बाहिर निस्के । निष्पट अध्याँरो छाइसकेको थियो । म पनि केहीबेर पछि वाहिरिंए । यसो पूर्वउत्तरतिर नियाँले । झिलिमिली बत्ति बलिरहेको छ  बजारमा । अन्यत्र पुरै चुक पोखिएजस्तो कालो छ । ‘सर,जाउँ भित्र अध्याँरोमा किन बाहिर बस्नु ।’ पदम आइसकेछन् । हामी दुवै भित्र पस्छौं ।उनी शिकार बनाउन आफैं तम्सिए । उनकी श्रीमतिले खाना लगाइन । मैले दुई देखि तीन गाँस खान सकिन । कति खल्लो स्वादको मासु । के को भनेर सोधें उनले परेवा भनेर सहजै उत्तर दिए । शान्तिको प्रतिक मानिएको परेबाको पनि मासु खाइयो । मलाई कता कता पछुतो भो ।मन नै कस्तो कस्तो भो । मैले खाना छोडें । र माफी मागे ।

राती मलाई कुनाको ओछ्यानमा सफा तन्दा सहित ब्यवस्था भयो । म निदाउन सकिन । अहँ फिटिक्कै निद परेन । पढेलेखेको मान्छेको त घरको ब्यवस्थापनको यो गति छ अनि सर्वसाधारण दलितहरुको के होला । मेरो दिमाग नै कुदायो आज पदम जीकोमा बास बसेपछि कता कता । परिवर्तन अहँ उति छिटो कहाँ होला र । चेतना अहँ पढ्दैमा आउने हैन रहेछ । आम दलितहरुको नाँगो आँग,भोको पेट,चुहिएको छानो र अशिक्षा सम्झेर द्रवित भएँ म । यता उता कोल्टो फेर्दै रात सकियो ।

विहान भयो । चरीहरुको चिरविर सुनेर बाहिर निस्के म । त्यो गाँउमा पानीको श्रोत एउटा कुवा रेछ । म नुहाउन भनेर वाल्टिन बोकेर निस्किएँ ।ब्रस पनि गर्दै टावल काँधमा बोकेर ।पधेँरामा पानी भर्ने महिलाहरुको भीड थियो । मैले पानी भर्न खोजें । ‘पख्नुस सर,पहिले हामी भरी सक्छौं अनि मात्र । ’एक जना हिजोको तालिममा सहभागी महिलाले मलाई रोकिन । मैले सोचें  म ढिला आएकोले कुर्नुपर्ने नियम होला यहाँ । यो त राम्रो कुरा नि भन्ने ठान्यो मनले । केहि महिलाले पानी उभाएर भरे । तर अझै मेरो पालो नआउने देखेर मैले अलिकति पानी बाल्टिनमा भरिदिन भनें । एक जना महिलाले भरिदिइन । मैले डिलमा गएर टिसर्ट खोलें ।टाउको पखालें ।मुख धोएँ । कानेखुशी चल्यो त्यहाँ मतिर हेर्दै ।हाँसोको फोहोरा पनि छुट्यो । म अलमलमा परेंर फर्किए । 

समयमै तालिम शत्र सुरु भयो दोस्रो दिनको । सहभागीहरुको म प्रतिको हेराई अलिक फरक पाँए मैले । सेतै फुलेको कपाल,गहुँगोरो वर्णका पुष्ठ शरीर भएका धन बहादुर विश्वकर्मा बा भने सहभागीहरुमा अलिक फरक चेतनाका लागे मलाई । उनी मैले कुनै पनि विषयवस्तुमा बोल्दा त्यो विषयमा भारतमा यस्तो थियो भनेर उदाहरण जोडेर सहजिकरण गर्दिन्थे । मलाई बुभm्न गाह्रो परेन उनी भारतमा लाहुरे जीवन विताएर फर्केका हुन् ।

‘सर बाहुन भन्नु हुन्थ्यो । हिजो पदमकोमा बस्नु भयो । खानु भयो । झन आज विहान नुहाँउदा जनै पनि देखिएन । हजुरले आफ्नो जात ढाँट्नु भएछ । कति टाठो मान्छे ।’खाजा खाने बेलामा एक जना विश्वकर्मा दिदिले सोध्नुभयो ।

‘हजुरलाई के लाग्छ? जे लाग्छ म त्यहिं हुँ दिदि ।’मैले सहज बन्दै यति भनें ।

‘ुआ ठूली भाउजु पनि के के सोध्नुहुन्छ सरलाई ।’ पदम बहादुर मेरो पक्षमा उभिए ।

जातीय खाडल अलि गहिरै रहेछ भन्ने बुझ्न मलाइृ गाह्रो भएन । मैले अलिक बुझेका जस्तो लाग्ने चन्द्र बहादुर वि.क.दाईकोमा बास बस्नु पर्ला भनेर उहाँलाई खुसुक्क प्रस्ताव राखें ।मेरो प्रस्ताव दाजुले सहर्ष स्वीकार गरे । तालिम पछि उनकैमा गएँ म । 

घरको आँगन गोवरले पोतिएको थियो । पिंढी पनि सफा थियो । जानासाथ दिदिले तातो चियाले स्वागत गरिन् ।दुई जना स्कुले बाबुनानी आएर मसँग बसे । उनीहरु प्नि सफा थिए ।घर वरिपरिको बातावरण पनि उस्तै । मेरो मष्तिष्कमा पुनः एकपछि अर्काे हिजोको पदमको घरको बातावरणका दृष्य घुम्न थाले । सबै कुरा चेतना र इच्छाशक्ति हो भन्ने लाग्यो ।खाना खाइयो। अनि दाई दिदीसँग भलाकुसारी गरियो धेरै बेर। निन्द्राले डाकेको प्रष्टै संकेत गर्यो सायद हिजो अनिदो भएर होला ।ओछ्यान छिर्नासाथ निद परिहाल्यो ।

विहान मिठो भजन गाएको आवाज आइरहेथ्यो ।उठें ।तलबाट आवाज आइरहेको रहेछ । दिदी पूजा गर्दैछिन् सायद । म तल झरें । पूजा सकिएको रहेछ । रातो माटो र गोवर मिसाएर लितपोत गरिएको थियो ।मैले मेरो घरमा आमाको दैनिकीको प्रारम्भ सम्झिएँ, मिल्दो लाग्यो ।दाईले भैसीको दुध दोहोएर लेराए। दिदीले दुध तताइन । मलाई मुख धुन पानी ल्याइन दिदिले । नानीबाबु पिंढीमा बसेर किताव हेर्र्दैछन् ।दाई एकछिन काम छ भनेर निस्के ।म भने यताउताको बातावरण हेर्न थालें ।प्रायःघरहरुको बरिपरिको बातावरण नियालें ।पदम बहादुर जीको जस्तै पाँए ।परिवर्तनको थालनी जरुरी लाग्यो मलाई ।म धन बहादुर बाको घरतिर हान्निएँ । 

वरिपरि फुलहरु रंगिविरंगी फुल फुलेका छन् ।आँगन बारिएको छ ढुंगा चिनेर। बा आँटीमा बसेर तमाखु तानिरहेका छन् ।एउटा सानो केटो सायद नाती होला सिसाकलमले केहि कोरिरहेछ ।‘ओहो बाबु,नमस्कार आउनुस आउनुस।’ बाले आफुतिर बोलाए मलाई । म नमस्कार भन्दै उनीसंगै गएर चकटीमा बसें । ‘बुहारी चिया लेराउ त दुईकप सर आउनु भा छ ।’ बाले बुहारीलाई अराए ।सायद उनी भान्सातिर छिन् होला ।

‘बा,मलाई आज एउटा परिवर्तनकामी काम गर्नुपर्यो । हजुरको सहयोग चाहियो । आज खाजा सहभोजन संचालन गर्नुपर्यो । हजुर के भन्नुहुन्छ ?’

‘यो समाज ढोंगी छ बाबु । मैले पहिल्यैदेखि यस्ता कुरा गर्दै आएको कहाँ मान्थे । तपाईलाई पनि दमैको आरोप आएछ है ।’

‘मलाई यस्ता कुराले छुँदैन् बा । आज हजुरहरुले चाउचाउ पकाउने, परियारहरुले हालेर सबैलाई दिने र सबै सँगै बसेर खाने। हुन्न बा?’मैले जिज्ञासा राखें ।

बा सहमत देखिए । चिया खाइयो । म बासंग छु्िट्एर चन्द्र दाईको घरतर्फ लागें । वाटोमा पदम भेटिए । उनलाई पनि योजना प्रष्टसँग राखें उनी अलिक अनकनाए । मैले उनलाई कन्भिन्स गरें र छुट्टिएँ। चन्द्र दाई खलाँती चलाइरहेका थिए।मलाई पनि रहर लाग्यो चलाँए । उनको गोरोअनुहार भरी कालोेको साम्राज्य थियो भने पहिरन पनि उस्तै ।उनका आँखामा श्रमप्रति सम्मान देखिन्थ्यो । ‘सर घर जानुस म ।नुहाएर आँउछु । ’चन्द्र दाईले घर जान अनुरोध गरे । म पनि लागे घरतिर ।

एकछिन पछि चन्द्र दाजु आइपुगे । उनी अघि देखेका चन्द्र थिएनन् । सफा पहिरनमा देखिन्थे । म उनको शैलीबाट प्रभावित भएँ । खाना खायौं र लाग्यौं स्कुलतिर । सहभागीता आउने क्रम ढिलै भएकोकोले कार्यक्रममा ढिलाई हुने नै भयो ।आज तालिमको अन्तिम दिन समापनको लागि दीनानाथ सरले आउनु भयो । उहाँलाई सरप्राइज दिने हिसावले मैले मेरो योजना सुनाए। सम्भव छ ? उहाँमा आशंका थियो ।
 
तलिमको क्रममा मैले व्लेडले अलिकति आफ्नो हातमा काटेर रगत बगाएँ । अनि पदम बहादुर र चन्द्र दाईको पनि । सहभागीहरुको चेहरामा जिज्ञासा प्रष्ट देखिन्थ्यो । ‘सवैको रगतको रंग फरक छ कि एउटै छ? मलाई मात्र दुखेको होला कि पदम र चन्द्र दाईलाई पनि दुखेको होला?’मैले हठात प्रश्न तेसर््याएँ सबै सामु ।

‘त्यो त सबैको रातै हुन्छ अनि सबैलाई दुख्छ नि।’

हिजो मसँग जातका कुरा गर्ने दिदिले अरु भन्दा पहिले जवाफ दिइन ।

‘अनि जात चाहि तल माथि किन नि ? म बाहुन ्को छोरो भन्दा तपाईहरुले मलाई परियार नै रहेछ भन्नु भो । मलाई पधेंरामा पानी पहिले थाप्न दिनु भएन। तर म बाहुन भएर पनि अस्ति पदम जीकोमा बास बसें। हिजो चन्द्र दाईकोमा बसें। हेर्नुस,मान्छेको जात त मान्छे नै हो मान्छे महिला र पुरुष दुई जात मात्र हुन्छ।’मैले सर्सर्ती बोले 

‘प्रदीप सर बाहुन । म पनि बाहुन ।हामी चाहीं समाजले कथित दलित भनेका तपाईहरुको घरमा गएर बस्ने खाने अनि तपाईहरु चाहिं म ठूलो तँ सानो भनेर होचिअर्घेलाईं गरिरहने ।कसरी हुन्छ त परिवर्तन अनि।’ दीनानाथ सरले थप्नु भयो।

ु‘तर परम्परादेखि चलेको चलन ।’ एकबृद्धको डर पोखियो ।

‘मान्छेले चलाएर चलन भएको हो बा । समय अनुसार मान्छेले चलन परिमार्जन गर्दै जानुपर्छ । जुन चलन राम्रो छ त्यसलाई पुस्तान्तरण गर्नुपर्छ । जुन चलन मान्छेको विकासमा बाधक छ त्यस्ता चलन आफ्नै पालामा परिमार्जन गर्नुपर्छ नत्र भावी पुस्ताले धिक्कार्छ ।’म भोलीको उज्यालो सम्झाँउछु । 

सहभागीहरु धेरै सहमत हुन्छन् । बुढा धनवहादुर बाले भान्सेको जिम्मा पदमबहादुरजीकी धर्मपत्नी र उनका छिमेकीलाई दिन्छन् । प्रमाणपत्र वितरण गरिन्छ । भान्से टोलीले स्कुलको आँगनमा तीनकुने चुलो बनाउँछ । नजिकैबाट सुकेका सिटाहरु बटुलेर ल्याँउछिन् सरस्वती दिदी र धन ब. बाकी बुहारी । ठूलो डिक्चे र अरु थालहरु संकलनमा जान्छन् केही सहभागी । पधेंरोमा पानी ल्याउन पदम  र अर्काे एकजना दाई अगाडी सर्छन् ।चाउचाउका प्याकेटहरु खोलेर उम्लेको पानीमा खनाउँछन् । खाजा तयारी हुन्छ । अज्ञानताको रेखा मेटाई चेतनाको पहिलो पाइला कोर्न सफल भएकोमा म मनभरि गदगद छु । थालहरुमा भाग लगाउँदैछन् धन बहादुर बा । म र दीनानाथ सर सबैलाई थालहरु उठाएर दिन्छौं । कुनै कुनै विश्वकर्मा थरका महिलाहरुले निधार खुम्च्याएको भान पर्छ मलाई । तर धेरै जसो उत्साहित नै छन् ।अन्तिममा म र दीनानाथ सर पनि धन बहादुर बा को हातवाट पस्किएको खाजा त्यहिं संगै बसेर खान्छौं । आहा कति मिठो ।अघिसम्म पर डाँडामाथि हुूस्सु उदास बनेर फैलिएको थियो तर अहिले फाटेर उज्यालिएको छ ।

‘पधेंरोमा पनि जो पहिले पुग्छ उसले पहिले पानी उभाउन पाउने है आजबाट ?’मैले प्रस्ताव राखें । मौनता देखिन्छ । धेरैमा उत्साह नै छ ।अन्तिममा हामी सामुहिक फोटो खिच्छौं ।र समुदायसँग विदा मागेर दीनानाथ सर र म उहाँको घरतर्फ झर्छांै ।

जातिय निष्पट अन्धकार हटाउन खोजेको यो प्रयास चेतनाको मिर्मिरे उज्यालोमा पदार्पण गर्दै गर्दाको खुशी कहाँ शब्दमा ब्यक्तिन्थ्यो र हजुर। कथित दुई जातका दलित विचको विभेद हटाउन कति सकें त्यसपछि त्यो कुराले निरन्तरता पायो पाएन याद भएन तर मेरो आत्मसन्तुष्टीको उचाई भने चुलियो ।।

[email protected]

प्राप्त प्रतिकृयाहरू

ओम कुमार श्रेष्ठ लेख्नुहुन्छ (२०७८ श्रावण ३ आइतबार ४:४६ pm )

एक दिनमै पनि त्यति ठूलो परिवर्तन हुन सक्ने रहेछ।त्यो समाजमा यस घटनाले पक्कै पनि सकारात्मक सोच विकास गर्न सघाउने छ। एक/ दुई ठाउँमा केही भाषागत त्रुटि भेटिए तापनि लेख सन्देश मूलक छ। सहभागीता आउने क्रम - सहभागी आउने क्रम दिनानाथ सरले आउनुभयो - दिनानाथ सर आउनुभयो

हरीश कल्पित लेख्नुहुन्छ (२०७८ श्रावण २ शनिबार १०:१४ pm )

गजव को मार्मिक नियात्रा ,साच्चै यो जातीयताको कुसंस्कार ले ग्रसित समाजलाई परिवर्तन गर्न त्यति सजिलो छैन ,,,,जातिय निष्पट अन्धकार हटाउन खोजेको यो प्रयास चेतनाको मिर्मिरे उज्यालोमा पदार्पण गर्दै गर्दाको खुशी कहाँ शब्दमा ब्यक्तिन्थ्यो र हजुर। कथित दुई जातका दलित विचको विभेद हटाउन कति सकें त्यसपछि त्यो कुराले निरन्तरता पायो पाएन याद भएन तर मेरो आत्मसन्तुष्टीको उचाई भने चुलियो ।।बधाई छ लेखक लाई मार्मिक नियात्रा को लागि ,,,,

Dilip Kumar Sapkota लेख्नुहुन्छ (२०७८ श्रावण २ शनिबार ८:५८ pm )

Wonderful !

प्रदिप सापकोटा लेख्नुहुन्छ (२०७८ श्रावण २ शनिबार ६:३७ pm )

मेरो यात्रा सस्मरणलाई स्थान दिनु भएकोमा khulamancha.com परिवारलाई धन्यवाद ????

Saroj Bhandari लेख्नुहुन्छ (२०७८ श्रावण २ शनिबार ४:३२ pm )

Sarai ramro lagyo hajur ko lekh. Feri feri pani yestai yestai lekh padna paiyos. Thank you

प्रकाश लेख्नुहुन्छ (२०७८ श्रावण २ शनिबार ३:३८ pm )

राम्रो छ ।

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै