बागलुङको तमानखोला गाउँपालिकाबाट स्थानीय पाठ्यक्रम तयार

बागलुङ : बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम तयार गरेको छ । तमानखोलाले एक वर्ष लगाएर तयार पारेको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक गाउँपालिकाका सबै विद्यालयमा पठाइसकेको छ ।  

‘मेरो तमानखोला’ पाठ्यपुस्तक यही वर्षदेखि विद्यालयमा अध्यापन गराउने तयारीसहित विद्यालयमा पठाइएको गाउँपालिकाले जनाएको छ ।

ad

विद्यार्थीलाई आफ्नो भूगोल, संस्कृति, धर्म र रीतिरिवाजका विषयमा थाहै नभई उच्च शिक्षा अध्ययनमा पुग्ने र स्थानीय संस्कार संस्कृतिका बारेमा बेखबर हुने परिपाटीको अन्त्यका लागि कक्षा १ देखि ५ सम्म लागु हुने गरी एक विषय स्थानीय पाठ्यक्रम समावेश गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए ।

गाउँपालिकाले झण्डै सात लाख रुपैयाँ खर्च गरेर आफ्नै पाठ्यक्रम तयार गरेको हो । 

पालिकाभित्रका २१ सामुदायिक र दुई निजी गरी २३ वटा विद्यालयमा स्थानीय पाठ्यपुस्तक पठाइएको शिक्षा अधिकृत पुरन घर्तीले जानकारी दिए । कक्षा १ देखि ५ सम्मका लागि तयार पाठ्यपुस्तकमा कला, संस्कृति, भूगोल, खनिज पदार्थ, कृषि, वन पैदावर, जडीबुटी, प्राकृतिक स्रोत तथा पशुपालनलगायतका विषय समेटिएको छ । 

गाउँपालिका अध्यक्ष संयोजक र शिक्षा अधिकारी सदस्यसचिव रहेको सात सदस्यीय पाठ्यक्रम निर्धारण समितिले पाठ्यक्रम तयार गरेको गाउँपालिकाले जनाएको छ । जिल्लाकै दुर्गम पालिकामा पर्ने तमानखोला पालिका स्थापना भएदेखि निरन्तर सामाजिक, आर्थिक तथा भौतिक विकासमा अगाडि देखिएको छ । 

विसं २०८० सम्ममा माध्यमिक तहका लागि समेत स्थानीय पाठ्यपुस्तक तयार गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष बुढाले बताए । स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सम्भावना, स्रोत तथा भूगोलका बारेमा पाठ्यपुस्तक तयार गर्ने संवैधानिक व्यवस्थाअनुसार पाठेय पुस्तक तयार पारिएको हो । 

मेरो तमानखोला पाठ्यपुस्तक हप्ताको चार दिन पठनपाठन हुनेगरी १०० पूर्णाङ्कको निर्माण गरिएको हो । एक सय पूर्णाङ्कलाई दुई खण्डमा एउटा अनिवार्य र अर्को ऐच्छिक खण्ड गरेर विभाजन गरिएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै