उषाकिरण ‘सत्यदर्शी’ | खरसाङ, दार्जीलिङ

धेरै दिनदेखि गुम्सिएका कोठाहरूभित्र पसेँ
शुद्ध हावा पसोस् 
बन्द झ्यालहरू खोलिदिएँ
मन्द बतास चलिरहेछ 
सिमसिम पानी 
घाम मधुरो छ
चिसो स्पर्श पाएर समीरको
भिज्यो हल्का फुहारले मनोप्राण
आनन्दमा पुलकित क्षण
झ्यालअघि उभिएकी छु
हेरिरहेछु प्रकृतिको मनमोहिनी आभा 
सुन्दर ! देदीप्यमान !
आकाशतिर उठ्यो नजर
मन सुटुक्क इन्द्रेणीको गाउँ पुग्यो
मुसुक्क हाँसेर स्वागत गरिन् अघिल्तिरको शिखरले
मानौँ धेरैदिनदेखि मेरै प्रतीक्षामा थिइन्
कसरी पोख्न सकेकी माया 
प्यारो कञ्चनजङ्घा 
आमा जस्ती छ्यौ तिमी
धन्य भएँ  म,
ढोकाहरू खोलिदिएँ
मीठो सुगन्ध छरियो
फूलको यौवन कत्ति चोखो !
जादुई आकर्षण!
नआउनु बहार खोस्न मेरो आँगनमा
भनिदिएँ  ती आदिम हातहरूलाई
जसले जीवनको घाम निभाइदिन्छन्
निर्दयी !
मन मयूर नाँच्न थाल्छ
अन्तर्मन शान्तिको आह्वान गर्छ
आँखा बन्द गर्छु 
बिस्तारै छोडिदिन्छु जीवनको भार 
धरतीको काखमा छु
पक्षीहरूको कलरव 
फूल र भमराको प्रणयलीला 
बतासको चञ्चला नृत्य
माटोको आशालय 
अनि आफ्नै मुटुको सङ्गीतवाणी
हराउँछु गहिरो ध्यानमा......
आकाशझैँ फैलिरहेछु 
बादलझैँ हलुको उडिरहेछु 
अथाह नीरवता छ
कुनै तपस्वी जस्तो 
'म’ हराउँदैछ मबाट
‘म’
पूर्णरूपमा अब विलीन भयो

ad

जीवनलाई यसरी माझ्न सकिन्न र समय-समयमा ? 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै