टोकियो ओलम्पिक : सुटिङकी कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौँ : जापानको राजधानी टोकियोमा सुरु भएको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । 

परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत भएको खेलमा ६ सय १६ दशमलव ८ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव २, दोस्रोमा १ सय ५ दशमलव चार, तेस्रोमा १ सय १, चौथोमा १ सय ४ दशमलव एक, पाँचौँमा १ सय ३ दशमलव चार तथा छैटौँ सिरिजमा एक सय दशमलव सात अङ्क जोडेकी थिइन् ।  

ad

परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ६ सय १४ दशमलव ५ अङ्क बनाएकी थिइन् । त्यो बेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । परियार सागमा चौथो भएकी थिइन् । उनी टोकियो ओलम्पिकमा छनोट चरणमा ५० खेलाडीमध्ये ४६औँ स्थानमा रहनुका साथै प्रतियोगिताबाट बाहिरिएकी छिन् ।

परियारले प्रतिस्पर्धा गरेको समूहबाट आठ खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उहाँ वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी थिइन् । सो समूहमा नर्वेकी खेलाडी ६ सय ३२ दशमलव नौ अङ्कका साथ पहिलो, कोरियन खेलाडी ६ सय ३१ दशमलव सात अङ्कसहित दोस्रो तथा अमेरिकी खेलाडी ६ सय ३१ दशमलव चार अङ्कका साथ तेस्रो भइन् ।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी तथा जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्न बाँकी नै छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ । टोकियो ओलम्पिक यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।   

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै