मुख्यमन्त्री रोजगार कार्यक्रम : सीपसँगै स्वरोजगार

लुम्बिनी: लुम्बिनी ग्रामीण रोजगार कार्यक्रमले नागरिकलाई स्वरोजगार बनाउने लक्ष्य राखेको छ । सोहीअनुसार तुलसीपुर उपमहानगरपालिकामा गत आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालित छ । सीप मात्रै सिकाउनेभन्दा पनि आम्दानीको मुख्य स्रोत बनाउने लक्ष्यअनुरुप यो कार्यक्रम सञ्चालित रहेको कार्यक्रमका विज्ञ सदस्य विनोद शर्माले बताए ।  

“हामीले रोजगारी सिर्जना गर्न शुरुमा तालीम प्रदान गर्छौं”, उनले भने, “तालिमपश्चात् हामीले आवश्यक सामग्री पनि प्रदान गर्छौं ।” यसरी सामग्री प्रदान गर्दा व्यावसायिकरुपमा अघि बढ्न प्रेरणा मिल्ने गरेको तालीममा सहभागीको भनाइ छ । 

ad

“हामीले सीप मात्रै सिकेनौँ, सीप सिकेपछि सामग्री पनि पायौँ”, तुलसीपुर–१२ निवासी नेत्राकुमारी ओलीले भनिन्, “अहिले हामीलाई काम गर्न निकै सजिलो भएको छ ।” उनले च्याउखेती तालिम पाउनु भएको थियो । त्यस्तै च्याउ खेती तालिम लिएकी लक्ष्मी घर्तीले सामग्री पाएपछि खुशी भएको बताइन् । उनलाई पराल काट्ने मेसिनदेखि लिएर च्याउका लागि आवश्यकपर्ने सामग्री प्रदान गरिएको हो ।

तुलसीपुर– १६ का युवा खगेन्द्र डाँगीले कलमी बिरुवा उत्पादन गर्ने तालिम लिने अवसर प्रदान गरिन् । त्यो तालिममा  व्यावहारिकभन्दा पनि बढी सैद्धान्तिक ज्ञान प्रदान गरिएकाले कृषिखेतीमा थप उत्साहित बनाएको प्रतिक्रिया दिए । “अब कृषिखेतीमा युवा सक्रिय हुनुपर्छ, यसरी हामीले ठूलो क्षेत्रफलमा लगाएको कागती खेती देख्दा निकै खुशी भएका छौँ, अझ हामीले यही आएर कागतीका बेर्ना उत्पादन गर्न सिक्यौँ”, उनले भने, “यसले हामीलाई हौसला प्रदान गरेको छ ।” 

त्यस्तै अर्का युवा झक्कुप्रसाद जैसी पनि निकै खुशी छन् । कागती उत्पादनको ठूलो क्षेत्रमा आएर कलमी बिरुवा उत्पादन गर्न पाउँदा खुशी भएको उनले बताइन् ।  तुलसीपुर– १३ मा कुटानी पिसानीको मिल थिएन । त्यहाँका नागरिकलाई रोजगारी पनि हुने र कुटानी पिसानीका लागि पनि सहज होस्, भनि कुटानी पिसानी मिल उपलब्ध गराइएको छ । यसले आफूहरुलाई स्वरोजगार बनाएको स्थानीयवासी गोविन्द नेपालीले बताए ।  

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमले मोटरसाइकल मर्मत तालिम प्रदान गरेर मर्मतका लागि आवश्यक सामग्री प्रदान गरेको थियो । त्यस्तै कपाल काट्ने तालिम, प्लम्बिङ, दूधका परिकार बनाउने, टनेल निर्माण तालीम, बाँसका सामग्री बनाउने तालीम, व्युटीपार्लर तालीम, चप्पल निर्माणलगायतका जीवन उपयोगी तालिम प्रदान गरिएको थियो । 

सामाजिक, आर्थिक तथा शैक्षिकरुपमा पछि परेका वर्गलाई रोजगारमा जोड्नका लागि यस्तो खालका कार्यक्रम सञ्चालन गरिएको विज्ञ सदस्य शर्माले बताए । साथै शारीरिकरुपमा अपाङ्गता भएका व्यक्तिलाई पनि उक्त तालिम प्रदान गरिएको हो । 

उनले सीप सिकेर मात्रै नहुने भएकाले व्यावहारिक प्रयोग आवश्यक रहने हुँदा तालिमपश्चात् यसरी सामग्री वितरण गर्दा सीपको सदुपयोग हुने बताए । “अहिले धेरैको सीप सिक्ने तर, व्यवहारमा नउतार्ने समस्या देखिएको छ”, उनले भने, “यसरी सीप प्रदानपछि सामग्री वितरण गर्दा उहाँहरुले आफैँ पनि सीपलाई प्रयोग गर्नुहुन्छ, यसले सकारात्मक प्रभाव पार्छ ।” रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै