निर्मला पन्त हत्याको तीन वर्ष पूरा, अझै मिलेन न्याय

काठमाडौँ : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पूरा भएको छ ।

अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको निर्मला हत्या प्रकरण नेपाल प्रहरीको इतिहासमै सबैभन्दा धेरै प्राथमिकतामा परेको पहिलो घटना भए पनि तीन वर्षसम्म घटनाको वास्तविकता बाहिर ल्याउन प्रहरी सफल हुन सकेको छैन ।

ad

शवको प्रकृति र शव परीक्षण रिर्पोटपछि निर्मलाको बलात्कारपछि हत्या देखिएपछि सोहीअनुसार प्रहरीले अनुसन्धान थालेको थियो ।

दोषी पत्ता लगाउन पटक पटक छानबिन समिति बनाएर अनुसन्धान गरिएको भए पनि अहिलेसम्म वास्तविकता पत्ता लाग्न सकेको छैन । सुरुमा केपी ओली नेतृत्वको सरकारले नै बेवास्ता गरेको उक्त घटनामा अधिकारवादीहरुदेखि दलहरुको चर्को विरोधबीच सरकार अनुसन्धान गर्न वाध्य भएको थियो । 

यो बीचमा हत्या अभियोगमा थुप्रैलाई पक्राउ गरे पनि दोषी भने अहिलेसम्म फेला पर्न सकेको छैन ।

प्रहरीले अहिले पनि आफूहरु अनुसन्धानकै क्रममा रहेको बताउँदै आएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको घटनापछि थुप्रै नेपाली बालिकाहरु बलात्कारपछि हत्याको शिकार भएका छन् । 

तर गम्भीर भएर घटनाहरु नकेलाइँदा अपराधीले उन्मुक्ति पाउने गरेको पाइएको छ । प्रहरीले आशा अझै मारेको छैन । परिवारले भने आशा मारिसकेको छ ।

तीन वर्षअघि २०७५ साल साउन १० गतेको दिन साथीको घरमा गएकी निर्मला अबेर साँझसम्म पनि घर नफर्किएपछि उनको खोजी सुरु भएको थियो । भोलिपल्ट बिहान भीमदत्त नगरपालिका–१८ र २ को सीमा नजिकैको उखुबारीमा उनको शव फेला परेको थियो । 

निर्मला हत्या प्रकरणमा गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय समिति, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यात नेतृत्वको समितिले घटनाबारे छुट्टाछुट्टै प्रतिवेदन तयार पारेका थिए । तर ती प्रतिवेदनहरु अहिलेसम्म कार्यान्वयन हुन सकेका छैनन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै