युरो, डलर र भारुबाट पालित पोषितहरू

आनन्दराम पौडेल | [email protected]

कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि, अब म नेपालको राजनीतिक चरित्रको बिषयमा बर्णन गर्दछु, ध्यानदिएर सुन्नुहोस्।

ad

पार्टीको झोले नबनेका तर राष्ट्रको चिन्ता गर्ने बौद्धिक वर्गमा चिन्ताको बिषय तथा साझा छलफलको निस्कर्ष यो छ ( चारित्रिक, नैतिक पतनभएर यतिसम्म गिरी सक्दासमेत् कहिलेसम्म “यसैलाई राजनीति” भनिरहने हो ? अनि राजनीतिलाई  रछान बनाएर पतनको गोलखाडीमा झरिसक्दा समेत् अझै कतिसम्म त्यसैलाई  “राजनीति” भनेर गर्व गरिरहने हो ? कुहिएर, सडेर, डुङडुङ्ति गन्हाइसक्दासमेत् तिनै नेतालाइ कतिसम्म शीरैमा बोकिरहने हो ?

जुन पार्टीको आचरण, व्यवहार र कर्म समाजवादी छैन, त्यसैलाई  ‘समाजवादी’ भनिदिनुपर्ने  तराईवादी पार्टीका नेताहरू, जस्ले राज्यका पदहरूमा आफ्नै परिवारका सदस्य भर्ने र राज्यदोहन गर्ने धन्दा बाहेक अर्थोक् केही गर्दैनन्, तिनीहरूलाई  ‘लोकतान्त्रिक’ भनिदिनुपर्ने ?  नेपाली जनताका भावनालाइ कुल्चेर र जनआवाजलाई  दबाएर विदेशीका एजेण्डाहरू लादिएको सम्बिधान निर्माण गर्दा समेत् यिनीहरूलाई  राष्ट्रवादी भनिरहनुपर्ने ?

 शदीयौं देखि विश्वमा स्थापित मान्यता र प्रचलन के होभने लोकतन्त्र भनेको जवाफदेहिता हो, पारदर्शिता हो र जिम्मेवारीवोध हो। तर, नेपालको सन्दर्भमा मात्र यो भाष्य फरक छ। नेपालको राज्य सञ्चालनमा यी तिनै तत्व नभएपछि बल्ल लोकतन्त्र शुरू हुन्छ।

    विदेशी सख्तिकेन्द्रहरूलाई  थाहा छ, नेपाली जनता हल्लाको पछि कुद्छन्। नेपाली मनोबिज्ञान बुझेका हुनाले विदेशी शक्ति केन्द्रहरूले हल्लाबोलबाट आफ्ना एजेण्डा स्थापित गर्नेगर्छन्। त्यसैको लागि उनीहरूले नेपाली मेडिया माथि मनग्ये लगानी गरिरहेका छन्।

    राष्ट्रको जिम्मेवारी दिंदा योग्य, सक्षम ब्यक्ति खोज्नुपर्नेमा राज्यका पदलाइ परिवारको भर्तिकेन्द्र बनाइएको छ। योग्य, सक्षम मात्र हैन उस्को ट्र्याकरेकर्ड हेरेर चरित्रवान र आर्थिक मामलामा सफा ब्यक्ति खोज्नुपर्नेमा भ्रष्ट, निकम्मालाई  राज्यको जिम्मेवार पदमा आसिन गराइएको छ। भ्रष्टहरूको टीम बनेपछि भ्रष्टाचारको म्याराथुन दौड चलेको छ।  मुखले ‘देश र जनता’ भन्ने तर ब्यवहारमा आफ्ना मान्छे मात्र खोज्ने र पोस्ने प्रवृत्तिले गर्दा नेपालको लोकतन्त्र लूटतन्त्रमा परिणत भएको छ। 

   अहिले वहस चलेको छ— युरो, डलर र भारुबाट पालित पोषितहरूले हल्ला बोलबाट विदेशी एजेण्डा स्थापित गराइरहेका छन्, तिनीहरूलाई  हैन ब्यवस्थापकीय कौशलता भएका ब्यक्तिहरूलाई  राष्ट्रको जिम्मेवारी सुम्पनुपर्छ। जोसँग दूरदृष्टि, व्यवस्थापन शैली र सफलताको स्थापित ट्र्याक रेकर्डसमेत होस्। ढुङ्गामुढा गर्ने र हल्लाबोलबाट विदेशी एजेण्डा स्थापित गराउनेहरूले राज्यसञ्चालन र ब्यवस्थापन गर्न सक्दैनन् भनेर बारम्बार प्रमाणित भएको छ। यही बुझेर नै भारतका तत्कालीन प्रधानमन्त्री नरसिंह रावले सन् १९९१ मा मनमोहन सिंहलाई अर्थमन्त्रीमा नियुक्त गरेका थिए । सिंहले कार्यान्वयन गरेका नीतिहरूले भारतलाई संसारसमक्ष आर्थिक शक्तिका रूपमा उभ्याउन निकै ठूलो योगदान दिएका छन् ।  

मलेसियाका प्रधानमन्त्री डा। महाथीर बिन मोहम्मद मेडिकल डाक्टर हुन्। सँगसँगै उनी सफल उद्यमी पनि थिए । उद्यमको अब्बल व्यवस्थापन गर्न सफल भएकोले नै उनले राज्यसञ्चालनको अब्बल ब्यवस्थापन गर्नसकेका हुन् भन्नेमा कुनै सन्देह छैन। सिङ्गापुरमा ली कुआन युले गोह केङ स्वीलाई  अर्थमन्त्रीमा नियुक्त गर्दा उनको लण्डन स्कुल अफ इकोनोमिक्सको डिग्रि मात्र हेरेका होइनन्, सिङ्गापुर सरकारकै निर्देशक पदमा काम गर्दा देखिएको कार्यकुशलतालाई  मूल्याङ्कन गरेका थिए। शिक्षा, सञ्चार तथा स्वास्थ्यमन्त्रीमा यङ न्युक लिनलाई नियुक्त गरिएको थियो जसले राजनीतिमा प्रवेश गर्नुअघि अठार वर्षसम्म व्यवस्थापकका रूपमा ओभरसिज इन्स्योरेन्स कम्पनी सफलतापूर्वक सम्हालेका थिए । श्रीलङ्काबाट आएका सिन्नाथम्बी राजरत्नमलाई संस्कृतिमन्त्रीमा नियुक्त गर्दा पनि उनको अध्ययनको डिग्री मात्र हेरेका हैनन्, उनको हक्किपन र पत्रकारितामा देखाएको कार्यकुशलतालाइ हेरेका थिए। विषयको विशेषज्ञता भन्दापनि व्यवस्थापकीय कौशलता, इमान्दारिता र निर्णयक्षमतामा प्रमाणित भएका ब्यक्तिहरू खोजेर सरकार सञ्चालन गर्न लगाएको कारणले नै सिङ्गापुरलाई सिङ्गापुर बनाउन सकेका हुन् ।

    भारतको उत्तरप्रदेशमा योगी आदित्यनाथलाई सफल मुख्यमन्त्री भन्नथालिएको छ। धेरै संस्थानहरू,  शिक्षण संस्थाहरू र अस्पताल सञ्चालन गर्ने विशाल गोरखनाथ मठलाइ सफलतापूर्वक हाँकेको ब्यवस्थापकीय कार्यकुशताको अनुभवले नै यहाँ कामगरेको मान्नसकिन्छ।

सफल व्यवस्थापक, टेक्नोक्य्राट र उद्यमी भएकाले नै, नरेन्द्र मोदीले, अश्विनी वैष्णवलाइ रेल, आईटी र सञ्चारजस्ता महत्त्वपूर्ण पोर्टफोलियोको जिम्मेवारी सुम्पेका हुन् । त्यस्तै, राजनीतिमा प्रवेश गर्नुअघि आफ्नै उद्यममा देखाएको ब्यवस्थापकीय गुण र चारपटक गोवामा मुख्यमन्त्री हुँदा देखिएको कार्यकुशलता तथा सादा जीवन उच्च बिचारको ज्वलन्त नमूना देखेर अनि त्यसैको मूल्याङ्कन गरेर नै मनोहर पार्रिकरलाइ रक्षामन्त्रीमा नियुक्त गरेका थिए।

     नेपालीले प्राप्त अवसरहरू सदुपयोग गर्न नसकेको सत्य हो । नेपालको ठुलो समस्या के होभने सरकारको स्थिरतालाइ राजनीतिक स्थिरता भनेर अर्थ्याउन खोजिएको छस जुन सरासर गलत छ। राष्ट्रको आवश्यकताचाहीं ‘नीतिगत स्थिरता’ हो। इजरायल, जापान, इटालीमा सरकार परिवर्तन भैरहन्छन् तर राष्ट्रको गति र लयमा कुनै व्यवधान आउँदैन। छिमेकी राष्ट्र चीन र भारतमै पनि सरकारसँगै राष्ट्रिय नीति परिवर्तन गरिहाल्ने चलन छैन।

विकासनिर्माणकै बिषयमा पनि नेपालमा राजनीतिक, नीतिगत र प्राविधिक तीनवटै पक्षबाट बिकराल समस्या छ। योजनाबिनै परियोजनामा हाम्फाल्छन् र बजेट नै नछुट्याई निर्माण थाल्छन् । विकासनिर्माणका योजना तर्जुमा गर्दा नै लाभप्राप्तीको विशेष ब्यवस्था मिलाइन्छ। पाँच बर्षमा सकिने परियोजनालाइ पन्ध्र बर्षसम्म अल्मल्याएर राखिन्छ। कुनै परियोजना बनाएर हस्तान्तरण गर्नासाथ उस्को दायित्व र जिम्मेवारी सकिन्छ । सिङ्गापुरमा कुनैपनि विकास परियोजनाको प्रस्ताव गर्नुअघि त्यस्का विकल्पहरू हेरिन्छ र सर्वोत्तम विकल्प छनौट गरिन्छ। त्यसपछि त्यस्लाइ दीर्घकालीन आयुको कसरी बनाउने तथा कसरी मर्मत–सम्भार गर्ने भन्ने पहिल्यै तय गरिन्छ । हामीकहाँ कसैले कुनै योजना बनाइदिएर हस्तान्तरण गरेपछि सकिन्छ ।

      अजरबैजानमा पासपोर्टरलाइसेन्स ३० मिनेटमै बन्छ । एउटा सेवाकेन्द्रमा अलि चाप छ भने छेवैको अर्को केन्द्रबाट काम भइहाल्छ । कहाँ कति समय लाग्छ, सब जानकारी अनलाइनमै पाइन्छ । सेवाग्राहीले बच्चा लिएर गएको छभने त्यहाँ ‘बेबी केयर सिस्टम’ हुन्छ । सेवाग्राही अपाङ्गता भएको ब्यक्ति होभने घरमै सेवा आइपुग्छ । काजाखस्तानका अदालतमा इजलास छुट्याउने स्वचालित सफ्टवेर प्रणाली छ। विशेष जटील स्थितिमा बाहेक, काजाखस्तानका अदालतले सामान्यतया १५ दिनमा मुद्दा छिनिदिन्छ। त्यसैले नै, ‘इज अफ डुइङ बिजनेस’को १९० सूचकाङ्कमा २५ औं स्थानमा परेको छ ।

     नेपालको राज्यब्यवस्था र समाजब्यवस्थाको चरित्र र अन्तर्बस्तु नै ‘क्रोनी क्यापिटलिज्म ९आफन्त पोस्ने पूँजीवाद०’ रहेको छ। त्यसैले, चाहे पञ्चायतकाल होस्, बहुदलीयकाल होस् अथवा लोकतान्त्रिककाल होस् एउटा निश्चित् वर्गले तर मारिरहेका हुन्छन्। तिनीहरूको सिण्डिकेट हुन्छ र जताततै तिनीहरूकै दादागिरी चल्छ। पहिले–पहिले जापान, कोरियामा पनि ‘क्रोनी क्यापिटलिज्म’ थियो। यस्लाइ जापानमा  ‘जाइबाचु वा केइरिचु’ र कोरियामा ‘चेबोल’ भनिन्थ्यो। तर, अहिले नामोनिशान छैन।

हे अगस्त्य मुनि, क्रोनि क्यापिटलिज्म रहुञ्जेलसम्म नेपालको अधोगति निश्चित् छ। यति भनेर कुमारजी मौनबसे।

ईति श्रीस्कन्ध पुराणे, हिमबतखण्डे नेपाल महात्म्ये, राजनीतिक चरित्र बर्णनम् शुभम्।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै