एमालेसँग छलफल गर्न तयार छुः सभामुख सापकोटा

काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले संसद सञ्चालन गराउन प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गर्न तयार रहेको बताएका छन् ।

सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताए। 

ad

बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन् । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए ।

सभामुख सापकोटाले भने, ‘ढिलो चाँडो संवादमा उहाँहरू आउनुहुन्छ भन्ने छ । दसैँको अवसरमा छौँ, यो अवसरले हामी सबैमा सकारात्मक सोचको विकास होस्, हामीले यस्तो बेलामा कामना गर्ने कुरा यो हो । मैले फेरि फर्केर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ, उहाँहरूले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ, हामी सबैले समीक्षा गरौँ र सकारात्मक सोचका साथ संवाद थालौँ, जतिसुकै ठुलो समस्या भए पनि संवादको विकल्प छैन, समन्वय, सहकार्य र समझदारी नै हो । हाम्रो संसद्मा अहिले अलिकति समस्याहरू देखिएको छ, अवरुद्ध भइरहेको छ, १५ दिनको समय पनि छ, कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु ।’

सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने बताए । उनले संसद् सुचारु रूपमा चलाउनका लागि नेकपा एमालेसँग संवाद गर्न आफू सकेसम्म पहल गर्ने बताउँदै संसद् पुनर्स्थापना गर्न लागि परे जस्तै संसद् सुचारु रूपमा चलाउन संसदहरुले पहल गर्नुपर्ने बताए । उहाँले संसद्लाई जीवन्त र जनमुखी बनाउन आफू पनि गुणात्मक ढंगले लागि पर्ने बताए ।

सभामुख सापकोटाले भने, ‘राजनीतिमा आग्रह, पूर्वाग्रह, हुन्छ, प्रतिसोध सोच्न पनि सकिँदैन । यी सबै आग्रह पूर्वाग्रह मेटिँदै जानेछन्, सकारात्मक सोचको विकास हुनेछ, अझ निष्कर्षमा पुग्नका लागि सबै औपचारिक, अनौपचारिक, ट्रयाक वान, टू, सबै उपायहरू अवलम्बन गर्नका लागि मैले सके जति मिहिनेत गर्दछु । संसद्लाई जीवन्त र प्रभावकारी बनाउनुको विकल्प छैन ।’

सभामुख सापकोटाले संसद्मा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै सञ्चारमाध्यमहरूमा आएको कुरा सही नभएको बताए । उनले एक किसिमले राष्ट्रका संवेदनशील विषयहरू अगाडि बढ्न आफूले नरोकेको सहजीकरण नै गरेको बताए । उनले सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर अन्य दलका नेताहरू उदासीन नभएको बताउँदै संसद् सुचारु गर्नका लागि शान्तिपूर्वक लागिपर्ने प्रतिबद्धता जनाए । उनले यसका लागि सरकार, गठबन्धन दल र सबै सांसदहरूले समीक्षा गर्नुपर्ने बताए । उनले लोकतन्त्र संघीय संसद्मा कमै मात्र प्रयोग भएको बताए । आगामी कार्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठकमा संसद् सुचारु रूपले चल्नेमा आफू आशावादी रहेको बताए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै