फेरि एमाले–माओवादी चुनाबी गठबन्धनको संकेत,ओली र प्रचण्ड निरन्तर संवादमा 

काठमाडौं:पछिल्लो समय एक अर्काको तीब्र आलोचक बनेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुबीच आगामी निर्वाचनमा फेरि एकपटक सहकार्य हुन सक्ने संकेत देखिएको छ । ४ वर्षअघि २०७४ सालको मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुनुअघि चुनाबी गठबन्धन गरेका एमाले र माओवादीबीच फेरि एकपटक चुनाबी गठबन्धन गर्ने प्रयास भइरहेको छ । 

विगत केही दिनयता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच निरन्तर भेटघाट र संवाद भइरहेको एमालेका एक उच्च नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार दुई नेताबीच आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ । छलफलमा के–कति प्रगति भयो र गठबन्धन बनाएर निर्वाचनमा जाने विषयमा दुई पक्षले के–कस्ता शर्तहरु राखेका छन् भन्ने विषयमा भने प्रस्ट भइसकेको छैन । 

गएको फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नामको विषयमा परेको रिटको फैसला गर्ने क्रममा नेकपाको दर्ता नै अवैध भएकोले एमाले र माओवादीबीचको एकीकरणलाई नै अवैध ठहर गर्दै एकता बदर गरिदिएपछि एमाले र माओवादी विभाजित भएका थिए । यससँगै एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड एक अर्काैको कटु आलोचक बनेका थिए । तर, एक अर्काको मुखसमेत हेर्न नचाहने अवस्थामा पुगेका यी नेताहरु अहिले पुनः सहकार्यको 'मुड'मा देखिएका छन् । 

२०७४ सालको मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भएको थियो । एक महिनापछि उक्त निर्वाचनको ४ वर्ष पूरा भएर पाँचौं वर्षमा लाग्छ । निर्वाचन भएपछि पाँचौं वर्ष प्रवेश भएपछि जुनसुकै बेला अर्को निर्वाचनको मिति घोषणा गर्न सकिन्छ । अर्को निर्वाचनको मुखैमा यी दुई पार्टीका शीर्ष नेताहरुबीच यस प्रकारको छलफल र संवादलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

एमालेका ती उच्च नेताले दिएको जानकारीअनुसार ओली र प्रचण्ड एकपटक फेरि दुर्लभ बहुमत ल्याउने प्रयासमा लागेका हुन् । अहिले देशमा ६ वटा राष्ट्रिय पार्टी भएको अवस्थामा कुनै एक पार्टीले स्पष्ट बहुमत ल्याउने सम्भावना न्यून छ । यो अवस्थामा एमाले र माओवादीबीच गठबन्धन गरेर स्पष्ट बहुमत ल्याउने प्रयास सुरु भएको हो । 

नेपालमा २०४६ सालको परिवर्तनपछि संसदीय राजनीतिमा भएका निर्वाचनमा अहिलेसम्म ३ पटक एउटै दल वा गठबन्धनले बहुमत ल्याएका छन् । २०४८ र २०५६ सालमा नेपाली कांग्रेसले स्पष्ट बहुमत ल्याएको थियो । २०७४ मा कम्युनिष्ट गठबन्धनले स्पष्ट बहुमत ल्यायो जुन गठबन्धन पछि गएर एकता गर्दै एउटै पार्टीमा परिणत समेत भयो । अहिले एमाले र माओवादीबीच गठबन्धन भएर फेरि बहुमत आयो भने नेपालको इतिहासमा कुनै दल वा गठबन्धनले स्पष्ट बहुमत ल्याएको यो चौथो पटक हुनेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै