आनन्दराम पौडेल | [email protected]

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि ! आज म नेपाली मेडियाको अन्तरकुन्तर खोतलेर राख्छु :  ध्यानदिएर सुन्नुहोस्।

अघिल्लो पुस्तासम्म चेतनशील नेपालीहरु सूचनाको प्यासले तड्पिरहेका हुन्थे अहिले अत्यधिक सूचनाको आँधिबेहरीबाट ओत लाग्न खोजेका भेटिन्छन्। अखवारहरु थोरै थिए, तर सबै आ-आफ्नो अभियान, जिम्मेवारी र दायित्ववोध सहित कर्मक्षेत्रमा डटेका हुन्थे। ३० बर्ष अघिसम्म मिशनपत्रकारिता थियो। २५ बर्षदेखि नेपाली मेडियाले कोल्टेफेरेको छ। प्रकाशन र प्रशारणका लागि प्रिण्ट मेडिया र इलेक्ट्रोनिक मेडियाको बाढी नै आएको छ। तर, सँगसँगै मिशन पत्रकारिता छाडेर ब्यवशायिक पत्रकारितामा हाम्फाल्न पुगेको छ। जतिजति व्यवसायिक हुँदैगयो त्यतित्यति वजारको नियम अनुसार चल्न थालेको छ। जति-जति वजारको अधिनस्थ हुँदैगयो त्यति-त्यति मानवीय पक्ष कमजोर हुँदै गएको छ। सत्य, न्याय र नैतिक मूल्यको क्षरण भैरहेको छ।

सूचनाको आँधिबेहरी मात्र हैन, सूचनाको अतिशयोक्तिबाट पनि पाठक र श्रोताहरु आक्रान्त छन्। जस्ले जित्यो त्यही सिकन्दर भने झैं वजारमा जुन बिक्छ त्यही मूल्यवान हुन्छ। मेडियामा बिक्ने  समग्र के हुन्छ ? जुन एक्सक्ल्युजिभ छ त्यही बिक्छ। प्रतिस्पर्धा भएकोले 'एक्सक्ल्युजिभ' बनाउने नाममा नुन, खुर्सानि, मसला घोलेर 'हट एण्ड सावर' परिकार पस्कन होडवाजी भैरहेको हुन्छ। 'हट एण्ड सावर' बनाउनलाग्दा धेरैपटक नुन, खुर्सानि, मसला मात्र बाँकि रहेर परिकारको मुख्य तत्वचाहीं गायब भैसकेको हुन्छ। 

धेरै बर्षअघि ऋत्विक रोशन प्रकरणमा त्यस्तै भयो। ऋत्विक रोशनले नेपाल राष्ट्र र नेपालीलाइ अपमानित गर्ने वाक्य बोलेका थिएकि थिएनन्, त्यसतर्फ कसैको ध्यान गएको देखिएन। गर्दैनगरेको अपमानको जवाफी हमलामा सबै यति तल्लिन रहे कि ऋत्विक रोशनले कहिले, कहाँ, कोसँग, कुन सन्दर्भमा के बोलेको थियो भन्ने चुरो कुरोचाहीं छुट्यो।

कान्तिपुरमा रच्छेन्द्र भट्टराई र अनुजा बानिञाको केसपनि त्योभन्दा फरक थिएन। रच्छेन्द्र भट्टराईको व्यक्तित्वलाई भव्य बनाउँदाबनाउँदै असली रच्छेन्द्र गायब भैसकेका थिए। तात्तातो  सामग्री पस्कन यति हतार हुन्छ कि चाख्ने समय पनि हुँदैन भनेर अनुजा बानिञाले सावित गरिदिएकी थिइन्।

रच्छेन्द्र भट्टराईको समाचारलाई भव्य बनाउनको लागि सृङ्गार प्रसाधन र गेटअपमा यतिबिघ्न ध्यान पुर्याइयो कि त्यस्को अन्तरवस्तु र सारतत्व नै गायब भैसकेको थियो। अनुजा बानियाँको केसले अर्को केपनि सबित गयो भने होहल्लाले छपक्क ढाकेपछि सत्यपनि मलिन हुन्छ। बहुमतको हल्ला र भीडबाट जोगिन सत्य किनारा लागेर बसेको त हामी सबैले देखेकै हो। हामी मेडियाको लतमा यतिसम्म फँसिसकेका छौं र मेडियाको नशाले झुम्म पारेका बखत यथार्थ वुझ्न भनि छेवैमा राखिएका  सामग्री समेत् प्रयोग गर्न बिर्सन्छौं भनेर राष्ट्रपति रामबरण यादवले साबित गरिदिए।

गलत व्याख्या गरेर सूचनालाई मोडिदिनु गडबडी भित्र पर्छ कि पर्दैन ? केलाएर हेर्ने हो, भने मेडियाले गर्ने भ्रष्टाचारको एउटा रुप यो पनि हो।

अनुजा बानिञाले ९२ लाख भेट्टाए कि  हुन् कि होइनन् ? र त्यो रकम फिर्ता गरेको हो, होइन ? राष्ट्रपति रामबरण यादवको लागि यति वुझ्न सरकारी संयन्त्र काफी थियो। भरतपुर क्यान्सर अस्पतालका डाक्टर भक्तमान श्रेष्ठको अपहरण एउटा अमुक पार्टीको भातृ सङ्गठनले गरेको हो भनेर सावित गर्न एउटा आइकन पत्रिका नागरिकले भयङ्कर कसरत ग(यो। लगातार यति फलोअप न्युज दिईरह्यो कि योभन्दा दायाँबायाँ अरु विकल्प हुनैसक्दैन भन्ने ठोकुवामा पाठकहरु पुगे। अर्को बर्ष हनुमानढोकामा एसपी रमेश खरेल पोष्टिङ भए। उनले ती अपहरण कर्ताहरु भटाभट पक्रिए। तर, ती कुनै पनि पार्टीका मान्छे थिएनन्।

दुस्खद पक्ष के रह्योभने माथिका चारओटै घटनामा प्रकाशक र सम्पादकले माफी मागेनन्। त्यसो त गल्ति स्वीकार नगर्ने र माफी नमाग्ने चलन(परम्परा अन्यत्रपनि देखियो। केही बर्षअघि त्रिभुवन एयरपोर्टबाट प्लेन हाइज्याक भयो। हाइज्याक भएको प्लेनमा काठमाडौंबासी नेवार परिवारका एकजना रमाइला व्यक्ति पनि थिए। हाइज्याक भएको प्लेनमा रहेका त्रशित र

आतङ्कित पेसेञ्जरहरुलाई हाइज्याक अवधिभरी तिनले रमाइला कुरा गरेर टेन्सनमुक्त राखे। यता तिनी आफ्ना कलाकौशलता देखाएर वातावरण सहज बनाइरहेका थिए, ठीक त्यही बेलामा एउटा न्युज च्यानल'जी टिभी'ले हाइज्याकरका मुख्य नाइके उनै हुन् भनि घण्टैपिछे प्रशारण गरिरहेको थियो। हाइज्याकरबाट प्लेन मुक्त भएपछि, त्यो समाचार गलत साबित भैसक्दापनि, उक्त न्युज च्यानलले आजसम्म माफी मागेको छैन। जीन्युज मात्र  होइन , इराक युद्धमा प्रायोजित समाचार प्रसार गर्ने मेडियाहरुमध्ये अधिकांशले माफी मागेनन्। माफी त धेरै परको कुरो भो, कसैको बिरुद्धमा आधारहीन, कपोलकल्पित समाचार प्रकाशित भएपछि पठाएका खण्डनको पनि बेहालै हुन्छ। कसैको व्यक्तित्व नै ध्वस्त पार्ने, इज्जत बर्बाद गर्ने र विश्वसनीयता समाप्त पार्ने समाचार भङेरटाउके शीर्षक राखेर पहिलो पृष्ठमा छापिएको हुन्छ। पठाइएको खण्डनले चाहीं १० प्वाइण्टको अक्षरमा भित्री पृष्ठको कुनामा स्थान पाउँछ।

नेपाली मेडियाको सुन्दर पक्ष के छ ,भने यो भ्रष्टाचारविरुद्ध उभिएको छ। लोकतन्त्र आएपछि नेपालमा भ्रष्टाचार छलाङ मारेर बढेको छ। दक्षिणएशियामा अफगानिस्तान पछि सर्वाधिक भ्रष्ट मुलुक नेपाल भएको छ। नेपालमा भ्रष्टाचार विरुद्ध मेडियाले मात्र बोलेको छ। मेडिया नभएकोभए नेपाल विश्वकै अति भ्रष्ट मुलुकमा परिसक्थ्यो भनेर सहजै अनुमान गर्न सक्छौं। तर, के रूपैयाँको लेनदेन मात्रै भ्रष्टाचार हो त ?  कर्तव्यच्युत हुनु, जवाफदेह नबन्नु, जिम्मेवारी बिर्सनु, गडबड गर्नु र प्रभावको दुरुपयोग गर्नु झन् भयङ्कर भ्रष्टाचार हो। यस हिसाबले सरकारी पदमा रही बजेट खानु, राजस्व मार्नु र घुस खानुभन्दा मेडियाको शक्ति र प्रभावलाइ दुरुपयोग गर्नु कम भ्रष्टाचार हैन। नेपाली मेडियाले मात्र यस्तो भ्रष्टाचार गरे भन्न खोजिएको ह्वैन। अमेरीकन मेडिकल एसोसिएशनले एउटा म्यागाजिन नियमित प्रकाशित गर्छ। यस्मा चिकित्सा क्षेत्रमा भैरहेका खोज, अनुसन्धान र प्रगतिका बिषयबस्तुहरु रहन्छन्। २१ बर्ष अघि राष्ट्रपति बील क्लिण्टन र मोनिका लेविन्स्की स्क्याण्डल चर्चाको शीखरमा थियो। ठीक त्यही बेलामा यो म्यागाजिनले मुखमैथुनको बिषयमा कलेजका बिद्यार्थीहरुको विचार सङ्कलन गरेर प्रकाशित गर्यो । मुखमैथुनलाई यौनाचार नमान्ने विचारहरु समावेश थिए। 

अमेरीकन मेडिकल एसोसिएशनका पदाधिकारीहरुले यस्लाइ गम्भीरतापुर्वक लिए। अप्रत्यक्ष तवरले बील क्लिण्टनको पक्षमा समर्थन बढाउनका लागि म्यागाजिनको दुरुपयोग गरिएको ठानेस र सम्पादकलाइ निस्काशन गरे। २०-२१बर्षअघि टिभीमा अन्तर्वार्ता दिंदै आइ.के. गुजरालले भन्नुभएको सम्झन्छु। अन्तर्वार्ताको क्रममा उहाँले भन्नुभएको थियो, 'हामी चार जना पूर्व प्रधानमन्त्रीहरुले ५ पेजको संयुक्त प्रेसबिज्ञप्ती निकालेका थियौं। कुनैपनि पत्रिकाले त्यो संयुक्त बिज्ञप्तीले के भन्न खोजेको थियो भनेर छापेनन्। हामीले त्यो वक्तव्य किन निकाल्यौं भन्ने अडकलचाहीं सबैले प्रकाशित गरे।' यसरी गलत व्याख्या गरेर सूचनालाई मोडिदिनु गडबडी भित्र पर्छ कि पर्दैन ? केलाएर हेर्ने हो, भने मेडियाले गर्ने भ्रष्टाचारको एउटा रुप यो पनि हो।

मेडियाशास्त्री जोन पिस्केले सूचनाको पोलिटिक्स र पपुलरिटीको व्याख्या गर्दै सूचनालाइ अफिसिएल र पपुलर गरी २ भागमा वाँडेका थिए। तर, अहिले अत्यधिक व्यवशायिक भएर वजारको नियममा चलेका मेडियाहरु हरेक सूचनालाइ पपुलर रुप दिन माहिर देखिन्छन्। पपुलरको सोझो अर्थ ुलोकप्रियताु हुन्छ। तर, यहाँ यस्लाइ अत्यधिक जनसमुदायमा प्रचारप्रसार हुनु वा अत्यधिक चर्चा ( टक अफ दि टाउन ) पाउनु भनेर वुझ्नुपर्दछ।'टु दि प्वाइण्ट' मा जाने होभने सूचनाको आकार सानो हुन्छ। र, कतिपय सूचनाहरु रोचकपनि हुँदैनन्। त्यस्लाइ  कसरी रोचक, घोचक र स्वादीलो बनाउने भन्ने शिप-कला भएकाहरुले यस्लाइ पपुलर बनाइदिन्छन्। रच्छेन्द्र भट्टराईको बिषयमा थपथाप र मिसमास गर्दै अतिरञ्जनामा पुर्याउन सामान्य सौन्दर्यकलाले सम्भव थिएन। सूचनालाई अतिरञ्जित र स्वादीलो बनाउनको लागि कलाकारलाई एउटा घटना, भावुक कथा र केही विवादास्पद तत्वहरु भए पुग्छ।

मेडिया जव अत्यधिक व्यवशायिक बन्यो, तब यो वजारको हिस्सा बन्न पुग्यो। अन्य उद्योग, व्यापार र व्यवशाय जस्तै मेडियाको उत्पादनको स्वरुप पनि वजारको माँग र आवश्यकताले तय गर्नेभयो। यस्को असर-प्रभाव कहाँनिर  पुर्यायो भने लोकतन्त्रको मानवीय-सामाजिक पक्ष मेडिया कवरेजबाट बाहिर पर्न थाल्यो। मूल्य, मान्यता, नैतिकता, विवेक, न्याय र मानवीय गरिमा जस्ता हिजोका अहंतत्वहरु आज वजारमा खोटासिक्का भए।

वजारमा पहूँच नभएका जनताको ठूलो हिस्सा मेडियाको कार्यसूचिमा परेनन्। यो भनेको तिनै जनता हुन् जो परिवर्तनको लागि आन्दोलन र क्रान्तिमा बेस्सरि प्रयोग भए, बलिदान दिए तर  सत्ताप्राप्तीपछि सबैले बिर्से। ठूलो हिस्सा भएका यी तिनै जनता हुन्, जस्को आवाज व्यवस्थाले हिजो-अस्तिदेखि कहिल्यै सुनेन। जस्लाइ उपेक्षा र तिरस्कार गरेर मज्जाले अघि बढ्न सकिन्छ भन्ने व्यवस्थाको जवर्जस्त धारणा रह्यो। मेडियाकै कारणले स्थिति कस्तो बन्न पुगेको छभने आज जनसमुदायले गर्न लागेको कुनैपनि कार्यक्रममा बलिदानी जनताहरु, शहीदका आमाबुबाहरु र जीवनभरी राष्ट्रको चिन्ता गर्ने जिम्मेवारीवोध भएका पवित्र व्यक्तिहरु तलतिर, हुलमुलको पुछारमा, कुनाकानितिर भेटिने भए। जस्को विगत अत्यन्तै घीनलाग्दो छ, त्यस्ता परमानन्द झाहरु माथि ड्यासमा ससम्मान बिराजमान गराइने भए।

परमानन्द झाहरुलाई शीरमा नराखी कार्यक्रम नै अगाडी नबढ्ने कारण के हो भनेर आयोजकसँग कसैले सोध्यो भने, 'उनीहरु नआईकन मेडिया आउँदैन, क्यामेरा आउँदैनू भन्ने प्रष्ट जवाफ पाइन्छ। परमानन्द झाहरुलाई कवरेज गर्दागर्दै प्रसिद्ध कवि उपेन्द्र श्रेष्ठज्यू देहावसान हुनुभएको समाचार प्रकाशन र प्रशारण गर्ने स्थान रहेन। व्यवसायिक  भैसकेपछि सर्वसाधारण जनता मेडियाको सरोकारमा परेनन्। फटाहा नेताहरुले सधैं उत्सर्जन गर्ने अर्थ-न-बर्थका हल्लाहरु, उनीहरुका अहंका टक्करहरु र उनीहरुले सधैं खोक्ने कुण्ठाहरु तथा फिल्मी हिरोइनहरुले आँखा झिम्क्याएका, मस्किएका र इतरिएका बर्णनहरु र ५ इञ्चको ब्रा र २ इञ्चको लगौंटी लगाएका युवतीले देखाएका मस्तीका पोजहरु !

मेडियाको उच्च प्राथमिकतामा परे। मेडियाले सधैं उच्च हैसियतका व्यक्तित्वले प्राथमिकता दिएको कार्यक्रमलाइ नै रोज्छ। त्यस्मापनि नामी र दामी अनुहार खोज्छ। त्यस्ता कार्यक्रम तथा नामी-दामी अनुहार खोज्दाखोज्दै सर्वसाधारणको लागि ठाउँ हुँदैन। वर्तमानको यथार्थ स्थिति ठ्याक्कै कस्तो छभने मेडियामा आम जनताको लागि ठाउँ बच्दैन र नामी व्यक्तिसँग सर्वसाधारणको निम्ति समय रहँदैन।

स्थिति यस्तो बन्दैगएपनि सबकासब मेडिया वजारवादी भैसकेका छैनन्। समाज, राष्ट्र र जनताप्रति जिम्मेवारीवोध गर्ने khulamancha.com  जस्ता मेडियापनि अझै छन्। यी जिम्मेवारीवोध भएका मेडियाले वजारवादको प्रदुषणबाट जोगाउन खोजी पत्रकारितामा ध्यान दिए पुग्छ। त्यस्को लागि साविकदेखि प्रचलित परिमाणात्मक र गुणात्मक अनुसन्धानविधिलाई अबलम्बन गरिदिए पर्याप्त हुनेथियो।

नेपाली मेडियाको अन्तरकुन्तर छर्लङ्ग राखेर कुमारजी मौन हुँदाभए।

ईति श्रीस्कन्ध पुराणे, हिमवत्खण्डे, नेपाल महात्म्ये, मेडिया बर्णनम् शुभम्।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै