प्रिय कान्छु,
                 जब तिहार सकिन्छ अनि मंसिर महिना सुरु हुन्छ यी दिनहरु त्यसै त्यसै उदास लागेर आउछन्। केही घाउहरु फेरि चस्किन थाल्छन मन आफ्नै शरीर भन्दा गरुङ्गो हुने गर्छ। छतको पारिलो घामको न्यानोपन लिन खोज्छु र पनि भित्र भित्रै चिसो महसुस गर्छु अनि  फेरि सम्झिन्छु आफू माथिका कैयौ जिम्मेवारीहरु केही बेर एकान्तमा एक्लै आँसु बगाउछु, अनि फेरि सुरु गर्छु आफ्नै दैनिक कर्म। अस्पताल भित्र छट्पटिरहेका हरेक जीवनहरु नजिकबाट नियाल्छु अनि आफ्नो मन आफै बुझाउछु  आखिर कहाँ छैन र दुःख ? आखिर कस्ले ल्याएको छ र अजम्बरीको जीवन आखिर कस्ले छैनन र आफ्नाहरु गुमाएका ? 

भनिन्छ हरेक दिन सूर्य अस्ताउछ भोलि फेरि उदाउनकै लागि । तर, मेरो जीवनमा फेरि कहिल्यै न उदाउने गरि गएको हौ तिमी आज भन्दा ३ बर्ष अगाडि। समयले एउटा कुरा लुटेपछि अर्को केही दिन्छ भन्छन तर विडम्बना तिमीलाइ लुटेपछि अर्को तिमी कहिल्यै दिएन मलाई आजसम्म। यी एक हजार दिनमा एकदिन पनि त्यस्तो छैन होला जुन दिन तिम्रो अभाव खड्किएको नहोस । नाताले  मेरो आफ्नै दाजु तर तिमीसँग बिताएका जीवनका २५ वटा वसन्तहरुले यस्तो महसुस गरायो कि तिमी मेरो जीवनको सबैभन्दा ठूलो पाठशाला अनि सबैभन्दा नजिकको साथी। मेरो मनको साथी मेरो घरको साथी अनि मेरो जीवनको हरेक सुख दुःखको साथी।

जीवन र मृत्यु शाश्वत सत्य हो जुन मैले हरेक पल हरेक सेकेण्ड स्विकार गरिरहेको हुन्छु। तर, पनि खै किन हो किन आफ्नाहरु गुमाउदा अलि बढी गारो हुने रैछ। सायद तिम्रै कारण तिम्रै उपचार गर्छु भनेर कुनै दिन डाक्टर बन्ने सपना देखेकी थिएँ। जुन दिन मैले यात्रा सुरु गरेकी थिएँ त्यो दिन म भन्दा धेरै तिमी खुसी थियौ । हुन त बहिनीले डाक्टर बनेर मलाई ठिक पार्छे भन्ने आशा तिमीभित्र थियो या थिएन त्यो त मलाइ थाहा छैन तर म भित्र चै पक्कै थियो । पहिलो दिन सेतो एप्रोन लगाको फोटो मैले सबै भन्दा पहिला तिमीलाइ नै पठाएकी थिएँ ।  

मेरो पढाइ र अन्य धेरै कुराहरु म तिमीलाइ नै शेयर गर्थेँ । कति कुरा परिवारमा अरुलाई तनाव दिन हुन्न भनेर लुकाएकी हुन्थेँ । मेरो कुरा बुझ्ने तिमी थियौ अरुले चाहेर बुझ्न सक्तैनथे ।  तिमी मात्र एउटा त्यस्तो मान्छे थियौ जोसँग म हरेक कुराहरु निर्धक्क शेयर गर्न सक्थेँ अनि तिम्रो सधै तटस्थ भएर सोच्ने बानी कहिल्यै कसैलाइ सतही मुल्याङ्कन गरि नहाल्ने  भएर होला सायद मैले आफूलाई तिम्रो अगाडि खुल्ला किताब बनाएर छोडिदिएकी थिएँ। तिमी गएदेखि मैले आजसम्म कोहि कसैसँग पनि आफूलाई त्यति खुल्ला छोड्न सकेकी छैन कान्छू। 

तिमी न आइ त हाम्रो घरमा दशैँ तिहार केही आउदैन तिमी आएपछि मात्रै घर झिलिमिली हुने हो भनेर सोच्ने मान्छे सायद तिमी नै त थियौ

जीवनको छोटो यात्रामा तिमीले मलाई आफ्नो अभिभावक सोचेर जति बिस्वास गर्यौ मैले आफ्नो जिम्मेवारी पूरा गर्न सके या सकिन त्यो म आफैलाई थाहा छैन तर तिमीले म माथि गरेको बिस्वास र भरोसाले गर्दा नै म आज यो स्थानसम्म आइपुगेकी छु। तिम्रो छोटो जीवनमा मैले तिमीलाइ सहज बनाउन र खुसी राख्न प्रयास त  गरेँ तर धेरै कुरामा म आफै असफल भएँ। मलाई पनि मन थियो तिम्रो जीवन धेरै लम्ब्याउने तर के गर्नु मेडिकल साइन्स विज्ञान  प्रविधिका पनि आ–आफ्नै सीमा हुने रहेछन। मेरो जीवनका हरेक सफलताका खबरहरु सबै भन्दा पहिला म तिमीलाई  नै सुनाउने गर्थे। जीवनका हरेक अप्ठ्याराहरु पनि म सबै भन्दा पहिला तिमीसँगै शेयर गर्ने गर्थे आज त्यही भएर तिम्रो अभावमा मभित्र केही खुसिका र केही पीडाका खबरहरु छट्पटिरहेका छन । 

हो कान्छु ,

               तिमी गएदेखि तिहार कहिल्यै तिहार जस्तो लागेन ।तिहारको रङ्गोली बनाउदा तिमीले जसरी गाइड गर्ने मान्छे अरु कोहि भएन ।तिमी गएदेखी रङ्गोली बनाउदै गर्दाको मेरो फोटो तिमीले खिचेजस्तो  कहिल्यै राम्रो आएन। आगनभरी फुलेका मखमली तिमी बिना कहिल्यै  तिहार आएजसरी फुलेनन्। हरेक चाडबाडको बेला नानी कहिले आउछेस् भनेर सबै भन्दा पहिले सोध्ने मान्छे अनि म यसपाली आउदिन भन्दा म भन्दा धेरै दुःखी हुने मान्छे केवल तिमी नै त थियौ। तिमी न आइ त हाम्रो घरमा दशैँ तिहार केही आउदैन तिमी आएपछि मात्रै घर झिलिमिली हुने हो भनेर सोच्ने मान्छे सायद तिमी नै त थियौ । तीजमा म घर आउदा तिमीलाइ यो भन्दा अर्को सारी राम्रो सुहाउछ भन्ने  मान्छे नहुँदा मलाई तीज कहिल्यै तीजजस्तो लागेन।

तिम्रो ह्वील चियरको जीवन देखेर नै मैले चिल्लो कार चढ्ने सपना देख्न छोडेकी हुँ र महसुस गरेको हुँ केवल खुट्टा टेकेर हिड्न सङ्गघर्षरत जीवनहरु

सबै दिदी बैनी आमा भाउजुको फोटो कोलाज बनाएर तिमीले फेसबूकमा तीजको शुभकामना नदिएसम्म कहिल्यै तीज आएको जस्तो लाग्दैनथ्यो। मेरो सबैभन्दा राम्रो फोटो आफ्नो मोबाइलमा डाउनलोड गरेर राखेर ह्यापी दशै म मेरो परिवार र मेरि फुच्चुको तर्फबाट भन्ने नहेरेसम्म मलाइ दशैँ कहिल्यै आउदैनथ्यो। कहिलेकाही ड्युटीमा व्यस्त भएर खाना खाको छैन भन्दा तिमीले आफै डाक्टर भएर बिरामी हुने बिचार छ भनेर गाली गरिरहँदा म आफै झस्किने गर्थे। मेरा नजिकका साथीहरुसग मैले चिनाउनु भन्दा अघि नै तिमी साथी बनेर कुरा गर्न भ्याइसकेको हुन्थ्यौ सबै सँग यति सजिलै घुलमिल हुने तिमी आज कुन संसारमा कसरी बसिरहेका हौला ?

प्रिय कान्छु ,
                   मेरो जीवनको सबैभन्दा प्रिय मान्छे अनि एउटा मीठो अध्याय थियौ तिमी । तिम्रो भौतिक शरीर आज मसँग नभए पनि मेरो जीवनमा तिम्रो धेरै ठूलो लगानी छ। सायद तिमीले र मैले एउटै काख र एउटै कोख शेयर गरेका थिएनौ भने म जीवनमा यति जिम्मेवार र व्यबहारीक बन्न सक्दिन थिए होला ।  तिम्रो कठिन जीवनको यात्रा नजिकबाट देखेपछि  नै मैले मानव जीवनको महत्व अझै धेरै बुझ्न थालेकी हुँ।

हाम्रो एक एक सास र हाम्रो शरीरमा बग्ने एक एक थोपा रगतले हामीलाइ एक–एक सेकेण्ड जिबित राखिरहेको छ भन्ने बुझेको हु र त्यो जीवनलाइ अरुको जीवन जिबित राख्न सदुपयोग गर्नुपर्छ भनेर पनि सिकेकी हुँ। तिम्रो ह्वील चियरको जीवन देखेर नै मैले चिल्लो कार चढ्ने सपना देख्न छोडेकी हुँ र महसुस गरेको हुँ केवल खुट्टा टेकेर हिड्न सङ्गघर्षरत जीवनहरु। सायद  अझै धेरै कुराहरु थिए तिमिसँग शेयर गर्न बाँकी । केही खुसिका खबरहरु थिए तिमीलाइ सुनाउन बाँकी केही घाउहरु थिए तिमिसँग शेयर गरेर आफ्नो मन हलुका बनाउने बाटो।

बाल्यकालदेखि जसरी तिम्रो हात समाएर तिम्रो झोला बोकेर तिमीलाई स्कूलसम्म पुर्याउने गर्थेँ। त्यसै गरि तिम्रो जीवनरुपी झोला बोकेर यात्रामा तिमीलाइ अलि परसम्म पुर्याउने रहर थियो। तिम्रो त्यो लेवलको विवेक ज्ञान विज्ञानको सामिप्यता अनि हरेक सिर्जनात्मक कुराहरुलाई अझ धेरै माथि  पुर्याउने मन थियो र सबैभन्दा ठूलो कुरा तिम्रो जीवनलाई लम्ब्याएर सँगै यात्रा गर्ने मन थियो बिडम्बना त्यो सब बिच बाटोमै ब्रेक लागेको छ। तिम्रो काँधमा मात्रै  रुने अनि सारा संसार सँग  एक्दमै बलियो  भएर हिड्ने  तिम्री बहिनी आज बन्द कोठाभित्र मात्र रुन बिवश छे।

तिमीसँगै जीवनका धेरै पाटाहरु छुटेका छन। तिमी बिनाका ३ बर्ष वास्तवमै ३० बर्ष जस्तो लागिसक्यो। बिधिको बिधान गर्न त केही पनि सक्दिन म तर  आज तेस्रो बर्षको पुण्यतिथिमा तिम्रो आत्माको चीर शान्तिको कामना। जहाँ छौ जस्तो छौ  खुसी हुनु कान्छू र तिम्रो पवित्र आत्माले मेरो जीवनमा सधै उर्जा शक्ति दिइरहोस्। तिम्रो अभाव सधै सधै मेरो जीवनमा र परिवारमा खड्कि रहनेछ। तर म तिमी सम्झेर मेरा विरामी रोगी र दिनदुःखीको सेवामा समर्पित बनिरहने छु । धेरै धेरै धेरै  स्मृति, माया र सेवा आत्मिक र भावनात्मक स्पर्श प्रिय दाइ। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै