एउटा रिमरिमे साँझले
तिमी नरहेको खबर
आकाशपाताल छेड्दै
मसम्म लिएर आइपुग्यो।

मृत्युका गन्धहरू 
मलाई पटक्कै मन पर्दैनन्।
डराउँदै, 
झ्यालमा गएर ठिङ्ग उभिएँ
बाहिर रात छिप्पिंदैछ,
शहर मस्त निदाएको छ।

पर गुम्बाको उज्यालोमा
लुङ्दरको फरफर आवाजसँगै
‘ॐ मणि पद्मे हूँ’ मन्त्र गुञ्जिरहेको छ।
मृत्यु सत्य हो।
तर पनि
बारम्बार एउटै प्रश्नअघि सर्छ 
तिम्रो जीवन दीप कसरी झ्याप्प निभ्यो ?
मनभरि आएका सम्झनाहरु
एक एक गर्दै खोलेर हेरेँ।
आँखाहरू भरिएर बगिरहे।

तिमीले छोडेर गएको मृत्युको परिभाषामा
मै पनि त पर्न सक्छु।
यस्तै अनेकौं कुराहरु सोच्दै थिएँ...
त्यो चकमन्न रातमा
अचानक तिम्रो स्वर कानैमा गुञ्जियो।
‘धम्मं शरणं गच्छामि
संघं शरणं गच्छामि...’
जूनको उज्यालोमा
एउटा मान्छे त्रिपिटक हातमा बोकेर
गुम्बातिरै लम्किरहेको थियो।
 

प्राप्त प्रतिकृयाहरू

गोपेन्द्र रिजाल लेख्नुहुन्छ (२०७८ मङ्सिर ४ शनिबार ०८:४९ am )

मृत्युको भयावह स्थिती र भोगाइहरु अनि गुम्बाबाट आएको आवाजले शान्त रसको अनुभूति गरायो । भन्नू, गर्नु र पीडा बोध हुनु फरक हुन भन्ने सन्देश दिने यो कविता कहिल्यै बूढो हुँदैन ।

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै