एमाले महाधिवेशन : सुरक्षाका लागि चितवन र नवलपरासी पूर्वले संयुक्त निगरानी गर्ने

काठमाडौं: नेकपा एमालेको १०औँ महाधिवेशनको सरगर्मी बढिरहेका छ। विशेष गरी चितवन र नवलपरासी (पूर्व) दुई जिल्ला महाधिवेशनका बेला प्रत्यक्ष प्रभावित हुने भएका छन्। सुरक्षाका दृष्टिकोणबाट पनि दुबै जिल्लाहरु चुनौतिपूर्ण अवस्थामा छन्। 

‘अबान्छनीय क्रियाकलाप, सवारी र भीड व्यवस्थापन अहिलेका प्रमुख चुनौतिहरु हुन्,’ नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी मनमायाँ भट्टराई पंगेनीले भनिन्, ‘हामी दुबै जिल्लाले संयुक्तरुपमा सुरक्षा, सूचनालगायतका संयन्त्रहरु प्रयोग गरी तयारी अवस्थामा रहेका छौं। हामीले संयुक्त निगरानी गछौं।’

महाधिवेशनका कारण यी दुई जिल्लामा सकारात्मक र नाकारात्मक दुबै असरहरु उत्तिकै पर्ने छन्। नारायणी किनारामा उद्घाटन हुने महाधिवेशनमा करिव १० लाख मानिसको उपस्थिति हुने एमालेले बताउँदै आएको छ। महाधिवेशनमा उपस्थित मानिसहरुको भीडले नारायणघाट बजार प्रभावित हुने छ। 

आन्तरिक पर्यटकले मंसिर १० देखि १२ गतेसम्म चितवन र नवलपरासी पूर्वका होटलहरु भरिने छन्। यस्तो संवेदनशील अवस्थामा सुरक्षा चुनौति पनि उत्तिकै हुने प्रजिअ पंगेनीको भनाइ छ। पंगेनीले यो चुनौतिपूर्ण अवस्थालाई सहज बनाउने र सुरक्षाको प्रत्याभूति गराउने दुबै जिल्लाको उत्तिकै भूमिका रहेको भन्दै नवलपारासी पूर्वले पनि संवेदनशील भएर काम गरिरहेको बताइन्। 

उनले दुबै जिल्लाको उत्तिकै जिम्मेवारी भएको हुँदा संयुक्त भिजिट, अनुगमन र सुरक्षाको प्रपञ्च मिलाएको बताइन्। खुलामञ्चसँग कुरा गर्दै उनले भनिन्, ‘भरपर्दो सुरक्षा व्यवस्थाको लागि प्रवन्ध भइरहेको छ। दुबै जिल्लाबाट संयुक्त स्थलगत भिजिट पनि गरिसकेका छौं।’ आज पनि अन्तर समन्वय बैठक बस्न लागेको पनि उनले जानकारी दिइन्। 

‘सुरक्षाकर्मीदेखि सम्पूर्ण सुरक्षाका लागि आवश्यक प्रवन्ध मिलाइएको छ।’ उनले भनिन्, ‘चितवन जिल्लाले आफ्नो तर्फबाट व्यवस्थापन गर्ने कुरा पनि रहला। हामीले संयुक्त रुपमा हुने विषयलाई ध्यानमा राखेर काम गरिरहेका छौं। जस्तो यातायात व्यवस्थापन कै उदाहरण दिँदा पनि पश्चिम नेपालबाट आउने सम्पूर्ण सवारी साधनहरुलाई गैडाकोटमै व्यवस्थापन गरिने छ।’

पूर्वबाट आउने सवारी साधनको हकमा भने चितवनले नै गर्ने उनको भनाइ छ। उनले चितवनले पूर्व र उत्तरबाट आउने सवारी व्यवस्थापन गर्ने छ भने पश्चिमबाट आउने सवारीको व्यवस्थापनको जिम्मेवारी आफ्नो रहेको बताइन्। 

उनका अनुसार पश्चिमबाट आएका सवारीसाधनहरु गैडाकोट सेरोफेरमा रहेको खाली जग्गामा राखिने छ। त्यसका लागि नारायणीको किनारालाई पनि उपयोग गर्ने उनको भनाइ छ। ‘ठूला मालबाहक गाडीहरुलाई सकेसम्म दाउन्ने क्रस नै नगर्ने गरी व्यवस्थापन हुने उनले बताइन्।’

गाडीहरु सडक छेउमै लाम लगाएर विजाग नहुने उनको भनाइ छ। उनले कार्यक्रममा भाग लिन आएका व्यक्तिहरुलाई गैडाकोटमै झारेर सवारी साधन नारायणीको क्षेउ, भृकुटी कागज उद्योग परिसर, कैलाश आश्रम लगायतका खाली ठाउँमा पार्कीङ व्यवस्थापन हुने उनले जानकारी दिइन्। 

यस्तै, चितवनका प्रमुख जिल्ला  अधिकारी अस्मान तामाङका अनुसार मंसिर १० गते बिहान १० बजेदेखि  पूर्वबाट आउने गाडीहरुलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा र पश्चिम नेपालबाट आउने गाडीहरुलाई पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रमा रोकिने व्यवस्था गरिएको छ। यसैगरी काठमाडौं वा पोखराबाट मुग्लिन हुँदै यात्रा गर्ने गाडीहरुलाई आँपटारी र पूर्वबाट आउने गाडीहरुलाई जिल्ला प्रशासन कार्यालय चोकदेखि भित्र प्रवेश गर्न नदिइने  प्रजिअ तामाङले जानकारी दिए। 

यस्तै,  जिल्ला प्रशासन कार्यालय चितवनले एमालेको उद्घाटन समारोह चल्ने बेलासम्म १० गतेको दिन सकेसम्म गाडी नचलाइदिन र नारायणगढ बजार क्षेत्र भएर यात्रा नगरिदिन अनुरोध समेत गरेको छ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै