आईसीसी महिला क्रिकेटमा नेपालको दोस्रो जित, कुवेत ९ विकेटले पराजित

काठमाडौँ : आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित हात पारेको छ । युएईको दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा आज भएको खेलमा कुवेतलाई ९ विकेटले हराउँदै नेपालले दोस्रो जित निकालेको हो ।

कुवेतले दिएको २८ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ३ बलमा मात्र एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालकी इन्दु बर्माले १३ रन जोड्दा कप्तान रुविना क्षेत्रीले १२ रनको योगदान दिइन् । कुवेतकी मारिया जस्वीले एक विकेट हात पारिन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ ओभर ४ बलमा अल आउट हुदै जम्मा २७ रन मात्र जोडेको थियो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

कुवेतलाई सस्तैमा समेट्न संगिता राई र कप्तान रुविना क्षेत्रीले तीन–तीन तथा करुणा भण्डारी र सरस्वती कुमारी चौधरीले एक–एक विकेट लिए ।

नेपालले यसअघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजय भोगेपनि दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदै ग्लोबल छनोटको सम्भावना कायमै राखेको थियो । प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले भोलि मलेसियासँग र पाँचौँ खेलमा आइतबार युएईसँग प्रतिस्पर्धा गर्नेछ ।  

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै