एमाले महाधिवेशन : वृद्धवृद्धालाई ओलीकै आश

शान्त बगिरहेको नारायणी । नारायणीको बहाबतर्फ फर्केर बनेको नेकपा एमालेको बिसाल मञ्च । विहिबार साँझ एमालेको उद्घाटन सत्र हुने नारायणी किनारा पुग्दा ठूलाठूला स्पिकरमा बद्री पंगेनीको ‘हजुरआमा भन्नुहुन्छ एमाले हो पाल्ने,’ बजिरहेको थियो।

नारायणीमाको शान्त बहाबलाई चुनौति दिन मोटरबोटहरु चलिरहेका थिए। छेवैमा बसेका युवाहरु बोटको टिकटका लागि त्याहाँ पुग्ने सबैलाई आह्वान गरिरहेका थिए। मान्छेहरु लहरै किनारबाट बोटहेरिरहेका थिए।

बुटवलबाट एमालेको उद्घाटन सत्रमा ओलीलाई हेर्न भनेर आएका टिकाराम उपाध्याय पनि नदी किनारामा बसेर मोटरबोट हेरिरहेका थिए। छोराले चितवनको भरतपुर नगरपालिकामै घर बनाएपछि अहिले टिकारामलाई चितवन पानी पधेँेरो झै भएको छ। चौमासिक वृद्धभत्ता बुझेपछि उनी चितवन आएका छन्। केही दिनको चितवन बसाईँकै बेला हुने एमालेको महाधिवेशनमा समावेस हुने उनको रहर छ।

‘ओलीलाई काम गर्न दिएनन्’ टिकारामले ओलीको प्रशंसा गर्न अलिकति पनि कञ्जुसाई गरेनन्। एमालेका कार्यकर्ता भूमिगत राजनीतिमा हुँदा पनि उनले सहयोग गरेको सम्झिरहेका छन्। उहिले भन्दा अहिले आउने वृद्ध भत्ताले गर्दा एमाले र ओलीको प्रशंसा गर्छन उनी।

‘वृद्ध भत्ता आउन थालेपछि आउन जान सजिलो भएको छ। आफ्नै पैसाले गाडीभाडा हुने भएपछि छोरा बुहारीसँग माग्नु परेको छैन। त्यो एमालेले गरेर भएको हो। म त खुसी छु। अझै पनि एमालेले जितोस् भन्ने मेरो अपेक्षा छ।’ उनले भने।

ओलीले बाँडेका सपनाहरुसँग मिल्ने मोटरबोट चलेको हेरिरहेका उनी समूद्रमा पनि यस्तै नेपालको झण्डावाला पानी चल्छ होला भन्ने लाग्छ उनलाई। ‘ओलीलाई गर्न दिएको भए केही गर्थे होला। यो पानी जहाज त ओलीले नै ल्याएका हुन् नी। उनले कुरा गरेपछि न यस्तो सुरु भयो। समुद्रमा पनि नेपालको पानी जहाज चलाउँछन् होला त्यसैले पनि ओलीलाई फेरि जिताउनु पर्छ,’ उनले भने।

एमालेले बनाएको विशाल महाधिवेनको स्टेज हेर्न पुगेकी पुलचोककी बबिता शर्माले पनि वृद्ध भत्ता बुझ्ने गरेकी छिन्। दैनिक नारायणी किनारामा मोर्निङ र इभिनिङवाकमा निस्किने उनी केही दिनदेखि अलगै रौनक छाएको बताउछिन्। उनले भनिन्, ‘यहाँ महाधिवेशन हुन्छ भनेपछि यहाँ हलचल भएको छ। म राजनीति त बुझ्दैन। भोट पनि रुखमा दिदै आएकी छु।’ 

‘वृद्धभत्ता दिने मान्छे ओली हुन् भन्ने थाहा छ।’ भोट दिएको कुन पार्टी हो भन्नेसम्म छुट्याउन नसक्ने शर्मा वृद्धभत्ता ओलीले दिएको जानकारी राख्छिन्। उनले भनिन्, ‘टिभिमा देखेकी छु। हसाउँछन्। काम त के गरे गरेनन् थाहा भएन। तर, हामी वृद्धवृद्धाको भरोसा हुन उनी। उनले गर्दा हामी वृद्धवृद्धा अरुको हेला भएर बस्नु परेको छैन। अझै पनि वृद्ध भत्ता बढाओस् भन्ने चाहाना छ।’ 

टिकाराम र बबिता प्रतिनिधि पात्र मात्र हुन्। अहिले नेपाल भरीका वृद्धवृद्धाले पाइरहेको वृद्धभत्तालाई निरन्तरता पाइरहेको अवस्थामा खुसि भइरहने उनीहरुको भनाइ छ। उनीहरुले इच्छाएको कुरा पुरा हुन्का ओली पुनः नेतृत्वमा आउनु पर्छ। ओलीले पार्टीको नेतृत्वमा पनि जित्नु पर्ने छ। नेकपा एमालेभित्र सहमतिको कुरा पनि नचलेको भने होइन्। तर, भीमरावलले गरेको उम्मेदवारी घोषणाले सहमति नहुँने त होइन् भन्ने भएको छ।

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता कृपासुर शेर्पा भने सहमति हुने दाबी गर्छन्। नारायणीको किनारमै भेटिएका उनी पार्टी पूर्व माओवादीसँग एकताको अवस्थामा रहेकाले यतिबेला सहमति बाट नेतृत्व हुने कुरामा विश्वस्त रहेको बताउँछन्। 

उमेरहदले अर्को कार्यकाल पार्टी राजनीतिमा समावेस हुन नपाउने भएका उनी अहिले केन्द्रीय सदस्यको प्रतिनिधि पनि हुन्। उनले भने, ‘सहमतिको भरपूर प्रयास हुन्छ। यदि सहमति भएन र कुनै पदमा निर्वाचन भयो भने निर्वाचनमा हार्नेहरुले त्यसको परिणाम पनि भोग्नु पर्छ। केही काम्रेडहरुले उम्मेदवारी दिनु भए पनि अन्ततः सहमति हुन्छ होला।’

दुलहीझै सिंगारिएको चितवनमा होटलहरु सबै प्याक छन्। नारायणीको एउटा किनारमा स्टेज राखिएको छ भने अर्को तर्फ पनि स्कृन राखेर उद्घाटन समारोह हेर्ने व्यवस्था मिलाइएको छ। किनारामा सेल्फी स्पटहरु राखिएका छन् भने नदी तिर सुरक्षाको कडा व्यवस्था मिलाइएको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै