धिक्कार छ, सत्ता तँलाई !

संजिव कार्की

तँलाई म निर्भय भएर तेरा विरुद्ध बोलेको मन पर्दैन,
म निर्भीक भएर सबैको लागि बोल्छु, लेख्छु 
मैले तँलाई निर्वस्त्र देखेँ भनेर लेखेको मन पर्दैन 

मैले सत्य बोल्दा तेरो गिदी दुख्छ,
मुटुमा शूल उठ्छ ।
ख्वामितहरुको कर्तुतको भण्डाफोरले तँलाई निन्द्रा पर्दैन 
तँ दास होस् 
तँ विचौलिया दलाल होस् 
तेरो पद,कथित बौद्धिकता 
केवल दलाली गर्न र 
स्वार्थको तर मार्न मात्रै काम लाग्छ ।
माखो मार्दैन तेरो बौद्धिकताले।
तसर्थ म तँलाई सख्त घृणा गर्छु ।
तँ पाजी सत्ता होस् ।
तेरो धर्म मेरो जिब्रो थुत्नु रहेछ ।
तेरो कर्म मेरो कलमको निव भाँच्नु रहेछ ।
तेरो मर्म तँलाई चाकरी गर्नु रहेछ ।
म तेरो चाकरी गर्दिन,
एक, 
दुई, 
तीन,
चाकरी गर्दिन ।
मलाई भोकै बस्न मन्जुरी छ ।
मलाई मेरो कर्ममा (काम ) विश्वास छ ।
तँ आफूलाई खुब जनवादी भन्छ्स् 
कुकुरलाई आफूसँग सुताएर 
मान्छेलाई घर बाहिर राख्छस् 
र 
समानता र मर्यादाको कुरा गर्छस्  !

प्रजातन्त्रवादी भन्छस् 
आफ्नो हुकुम लाद्छस् 
त्यसैले म तेरो ढोंगको सर्वत्र निन्दा गर्छु ।

मलाई तँ सत्ता भएको मन पर्दैन 
सत्ता हुनु भनेको सबैको अभिवाक हुनु हो ।
पक्षपात रहित हुनु हो ।
यसकारण
सत्ता ,
 तैंले मान्छेको विवेक चल्ने गिदी निकालेर 
 गोबर र लिदी भरिदिँदो रहेछस् !
 र,

सत्तासीन हुनु अघिको मान्छे र 
सत्तारोहण पछिको मान्छेमा
आकाश र जमिनको फरक हुँदो रहेछ!
सत्ताको नशा चढेको मान्छे 
र मदिराको नशा चढेको मान्छे , 
अन्धविश्वासको भर्‍याङ उक्लेको मान्छे 
हत्तपत्त नशाबाट ओर्लन चाँहदो रहेनछ !

मलाई 
पशुहरु मान्छे बन्ने सत्ता चाहिएको छ 
मान्छे पशु बन्ने सत्ता होईन 
त्यसेले तेरो बुद्धि र मेरो कुबुद्दिमा पृथकता छ 
मान्छेलाई दास बनाउने सत्ता होइन ! 
मान्छेलाई बुद्धि र विवेकको मान्छे बनाउने सत्ता चाहिएको छ 

म तँलाई आत्मैदेखि घृणा गर्छु ,  
मनदेखि टाढा राख्छु 
किनकी तैंले ,
अलिअलि भएको मान्छेलाई पनि 
 अमान्छे, कुमान्छे र वनमान्छे बनाईस्!
धिक्कार छ तँलाई 
अनि तेरो चरित्रलाई!

थाहा छ तँलाई ?
तँलाई जति धिक्कारे पनि कम हुन्छ 
त्यसैले फगत घृणा गर्छु 
मात्र घृणा !
तेरो सर्वत्र निन्दनीय चरित्रलाई 
अनि निर्वस्त्र चोलालाई! 
तँलाई धिक्कार !
धिक्कार ! धिक्कार !! अनि धिक्कार !!!

(सत्ता केवल केन्द्रीय सरकार मात्रै होइन सरकारका जुनसुकै अवयव पनि सरकार हो त्यही अवयवका मालिक बन्ने चाकरहरूमा समर्पित ।)

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै