काठमाडौँ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौँ चरण अन्तर्गत आज तीन खेल हुँदैछन् । दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुँदैछ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथरंगशालामा दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा थ्रीस्टार र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आजको खेलमा दुवै टोली जित निकाल्दै अंक तालिकामा सुधार ल्याउने योजनामा रहेका छन् । जारी लिगमा थ्रीस्टार ६ खेलबाट ७ अंकका साथ आठौँ स्थानमा छ भने जावलाखेल ७ अंक जोडेर नवौँ स्थानमा छ ।
यस्तै काठमाडौँमा अपराह्न पौने ५ बजे हुने दोस्रो खेलमा संकटा क्लब र च्यासल युथबीच प्रतिस्पर्धा हुनेछ ।
जारी लिगमा संकटा क्लब ६ खेलबाट १२ अंकसहित तेस्रो स्थानमा रहेको छ भने ४ अंक जोडेको च्यासल १३ औं स्थानमा छ ।
उता पोखरा रंगशालामा दिउँसो २ बजे मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीचको खेल सुरु हुनेछ ।
६ खेल खेलेको मनाङ १३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । एएफसी कप छनोट खेल्न मनाङलाई आजको खेल जित्नै पर्ने दबाब छ । समान खेल खेलेको ब्रिगेड ५ अंकका साथ १२औँ स्थानमा छ ।
प्रतिक्रिया थप्नुहोस्