शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी

काठमाडौः राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । 
    
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सातौँ चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । हिमालनय शेर्पालाई जीत दिलाउन कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरे । 
    
उनले खेलको ४४औँ मिनेटमा पेनाल्टीमार्फत गरेको एक गोल नै हिमालयन शेर्पाका लागि निर्णायक गोल सावित भयो । खेलको ४२औँ मिनेटमा सातदोबाटोका पिटर सेगुनले पेनाल्टी क्षेत्रमा त्रिदेव गुरुङलाई फाउल गरेपछि रेफ्री प्रज्ज्वल क्षेत्रीले हिमालन शेर्पालाई पेनाल्टीको अवसर दिएको थियो । जसमा विश्वासले गोल गरे । 
    
यस्तै खेलको इन्जुरी समयमा सातदोबाटोले पनि पेनाल्टीको अवसर पाएको थियो । तर सातदोबाटोका मार्टिन सिलोले पेनाल्टीमा गोल गर्न सकेनन् । यस जीतसँगै हिमालयन शेर्पाले सात खेलमा ११ अङ्क जोडेको छ । हिमालनय शेर्पा अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लेको छ । यसअघि हिमालयन शेर्पा नवौँ स्थानमा रहेको थियो । शेर्पाले सातौँ चरणको खेल सकिँदासम्म तीन जीत, दुई बराबरी र दुई हारको नतिजा निकालेको छ । 
     
समान सात खेल नै खेलेको सातदोबाटोको भने आठ अङ्क रहेको छ । पराजित सातदोबाटो अङ्क तालिकाको आठौँ स्थानमा झरेको छ । सात खेलमा सातदोबाटोले दुई खेलमा जीत, तीन खेलमा हार तथा दुई खेलमा बराबरीको नतिजा ल्याएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै