काठमाडौँ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजबाट आठौँ चरणका खेलहरु हुँदै छन् ।
लिग अन्तर्गत आज संकटा र सातदोबाटो युथ क्लब तथा एपीएफ र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा संकटा र सातदोबाटो मैदानमा उत्रने छन् ।
जारी लिगमा संकटा ७ खेलबाट १३ अंकसहित तेस्रो स्थानमा छ । यस्तै ८ अंक जोडेको सातदोबाटो आठौँ स्थानमा छ ।
आजको खेल जित्दै संकटा दोस्रो स्थानको मनाङसँग अंक बराबरी गर्न चाहन्छ भने सातदोबाटो शीर्ष पाँचमा उक्लन चाहन्छ ।
यस्तै, आज अपराह्न पौने ५ बजे सुरु हुने खेलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दुवै टोली आजको खेल जित्दै अंक तालिकामा सुधार ल्याउने योजनामा रहने छन् । जारी लिगमा एपीएफ ७ खेलबाट ६ अंकका साथ दशौँ स्थानमा छ भने ७ अंक भएको जावलाखेल नवौँ स्थानमा छ ।
प्रतिक्रिया थप्नुहोस्