आनन्दराम पौडेल | [email protected]

कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि नेपालमा आफूलाई कम्युनिष्ट भन्नेहरूले जबर्जस्त आग्रह लादेर चिन्तन प्रणाली र बिचारप्रवाहमा अवरोध पुर्याउँदा कस्तो परिमाण आयो र आइरहेछ भन्ने बिषयमा प्रकाश पार्दछु : ध्यानदिएर सुन्नुहोस्।

आफूलाई  कम्युनिष्ट भन्नेहरूले ४० बर्ष अघिदेखि नेपाली समाजमा जबर्जस्त आग्रह लाद्न थालेका हुन्। नेपालमा आफूलाइ कम्युनिष्ट भन्नेहरूले बिचार निर्माणमै यसरी धावा बोल्थे कि उनीहरूका फर्म्याट अनुसार सोच्नु पर्थ्यो। कसैले आफ्नो स्वच्छ बिवेक र उच्च बिवेकबाट निकालेका निष्कर्षहरू बोल्न पनि डराउनु पर्थ्यो। आफ्नै स्वच्छ ब्रह्मले देखेको र उच्च बिवेकले नै ठहर्याएको किन नहोस् । यो बिचार कतै क्रान्तिको सेवा नगर्ने पो ठहरिने हो कि भनेर अभिब्यक्त गर्न हच्किनु पर्थ्यो।

 नेपालमा आफूलाई  कम्युनिष्ट भन्नेहरू कतिसम्म गर्थे भने कुनै पनि सिर्जना वा ग्रन्थ पढ्न निषेध गर्थे । जस्ले उनीहरूको कसौटीमा क्रान्तिको सेवा गर्ने नठहरियोस्। अधिकांश श्रष्टाहरूलाई उनीहरूले ब्ल्याकलिष्टमा राखिहाल्थे जस्का रचनाले सोझै क्रान्तिको सेवा गर्दैन। पारिजातको ‘शिरीषको फूल’ उपन्यासलाई  ब्ल्याकलिष्टमा मात्र राखेनन्, त्यस्को विरुद्ध अभियान नै छेडेका थिए। मदनमणि दीक्षितजीले लेख्नुभएको उपन्यास ‘माधवी’ लाई  अछुत घोषणा गरियो। लक्ष्मीप्रसाद देवकोटालाइ क्रान्तिकारी कित्तामा राख्न नमिल्ने ठहर गरी ब्ल्याकलिष्टमै राखियो।

१० बर्षअघि हेटौंडामा राष्ट्रिय स्तरको साहित्य सम्मेलन भएको थियो। युग पाठकले पेश गरेको कार्यपत्रमा लक्ष्मीप्रसाद देवकोटाको बिषयमा तथ्यहीन, अनर्गल, भ्रामक कुरा राखेका थिए। लक्ष्मीप्रसाद देवकोटालाइ सत्ताको तावेदार भनिएको थियो। ‘सत्ताको पालनपोषण, संरक्षण र प्रवर्द्धनद्वारा जबर्जस्ति उचालिएका’ भनिएको थियो। अनर्गल र भ्रामक कुरालाई  सभाका सभापतिले र कवि मित्रलाल पङ्ग्यानीजीले ठाडै खण्डन गरेका थिए। उनीहरूको मूल्याङ्कनमा महात्मा गान्धीले केही सुधारका कुरासम्म गरेका हुन्। सुधारका कुराले क्रान्तिलाई  अल्मल्याउने भएकोले यस्ता सुधारहरूलाई  स्थान दिनुहुँदैन।

उनीहरूले सर्वप्रथम वैदिक सभ्यताविरुद्ध अभियान छेडे। माओवादीहरूले त  वैदिक सभ्यतालाई  नष्टभ्रष्ट गर्न कुनै कसर बाँकिराखेनन्। जनताका गोठबाट गाई लान्थे, मन्दिरमा लगेर काट्थे र शिवलिङ्गमा आन्द्रा बेरिदिन्थे। २० बर्षसम्म दशैंको टीकाजमरा बहिस्कार गरे, तिहारको भाइटीका बहिस्कार गरे। ‘बाहुनवाद’ भनेर एउटा जातविशेषलाइ खिसट्युरी गर्ने अभियान चलाए र अहिलेसम्म चलाइराखेका छन्। नेपालका जातजातिको सूचि बनाउँदा बाहुन, क्षेत्री र दशनामीलाइ ‘अन्य’ मा हालेका थिए । पछि चौतर्फि आलोचना भएर ठूलै दबाव परेपछि सँच्याए।  

उनीहरू विश्वका अन्य सभ्यतासँग अन्तरक्रिया गर्नु त परको कुरा आफ्नै देशका सांस्कृतिक परम्पराहरूसँग सम्वाद गर्न डराउँछन् । उनीहरूसँग एउटा मात्र तर्क हुन्छ र निर्धारीत ढाँचाभन्दा फरक पर्नासाथ ‘सामन्तवादी र पूँजीवादी वर्गको सेवा गर्ने’ भनेर खारेज गर्छन्।

यसरी बिचारनिर्माण र बिचारप्रवाहलाई  अवरुद्ध गरिदिंदा सभ्यताको स्वाभाविक गति अवरुद्ध भयो र जीवनको लय भाँडियो। आफैंबाहेक अरूसँग संसर्ग नै गर्ननहुने भएपछि हाम्रो राष्ट्रिय बौद्धिक परम्परालाई सङ्कीर्ण पार्यो। पूर्वीय दर्शनले पश्चिमा सभ्यतासँग सम्वाद र मन्थन गर्न नसक्ने भयो। विश्वका अन्य सभ्यतासँग अन्तर्कृया गर्नु त परको कुरा आफ्नै देशका सांस्कृतिक परम्पराहरूसँग सम्वाद गर्न डराउँने भए ।

त्यस्को परिणाम के भैरहेको छभने सिङ्गै पुस्ता यस्तो तैयार भएको छ, जोसँग धैर्य छैनस मात्र आवेग छ। विवेक छैन, हिंसा छ। सामूहिकताको भावना हराएर एकलकाँटे बनेको छ। समय, सभ्यता र इतिहासका गौरवसँग मतलब छैन बरु पूरै आत्मकेन्द्रित र अवसरवादी छ। जोसँग धैर्य छैन, मात्र आवेग छ। समाधान छैन, विरोध छ। क्रान्तिकारी देखिने उच्च महत्वाकांक्षाले गाँजेको छ तर अराजकता र क्रान्तिकारीताको भेद छुट्याउन नसकेकोले जन्जिर चुँडिएर उम्केको भोटे कुकुरजस्तो छाडा भएको छ। आलोचना र समालोचना समेत् छुट्याउन नसक्ने भएको छ। गालिगलौज र ब्यक्तिगत कटाक्षलाई  क्रान्तिकारी हतियार बनाएको छ।

    रचनात्मक, सिर्जनात्मक प्रोएक्टिभ हुनैनसक्ने भएकोले रिएक्टिभ भएका छन्। रिएक्टिभ पनि यस्तो कि हरेक बिषयमा रिएक्टिभ र हर पल रिएक्टिभ। कतिसम्म रिएक्टिभ भने खाम नै नखोलि रिएक्ट गर्ने र शीर्षक मात्र हेरेर पनि रिएक्ट गरिहाल्ने।

माओवादीले नरसंहार मच्चाइरहँदा हिंसात्मक आतङ्कबाहेक केहीपनि थिएन। तर यो बौध्दिक आतङ्क त्योभन्दा भयावह छ।

यसैको परिणाम आज नेपालमा भूईंफुट्टा वर्गको विकास भएको छ र टपर्टुईंया कल्चर स्थापित भएको छ। जस्ले लाजघीन पचाएको छ। कुनै संस्कार छैन, शिष्टाचार छैन, सभ्यता छैन र कसैको मर्यादा गर्दैन। मर्यादा गर्दैन मात्र हैन मर्यादा गर्नैजान्दैन। भावना छैन, शुष्क छ। दया, माया, करुणा र बिवेक जस्ता मानवीय गुणको अवशेष छैन।  बर्बर हिंस्रक र आक्रामक छ। दाह्राकिटेर बसेको छ र झम्टिहाल्छ। यो नेपाली समाज तैयार भएको छ, जुन बिद्रुप रछान छ।

आफूलाई  कम्युनिष्ट भन्नेहरूले तैयार गरेको नेपाली समाज यस्तो बनेको छ।

यति भनेर कुमारजी मौन भए।

इति श्रीस्कन्ध पुराणे, हिमवत्खण्डे, नेपाल महात्म्ये कम्युनिष्ट समाज बर्णनम् शुभम्।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै