आनन्दराम पौडेल |[email protected]
साउन ३ गते बझाङ अस्पतालमा भेट्दा उनको टाउकोमा सेतो बाक्लो पट्टी बाँधिएको थियो। जिउ खङ्ग्रङ्गै सुकेको थियो। पीडा गहीरै भएर होला, छट्पटाइरहेकी थिइन्। बेलाबेलामा बर्बराउने गर्थिन्, जुन प्रष्ट बुझिंदैनथ्यो।
सानो डेढ बर्षजतिको बच्चा उनकै छेउमा खेलिरहेको थियो। बुझ्दा थाहा भयो, उनी जयपृथ्वी नगरपालिका–१ भण्डारगाउँका मनोज नेपालीकी श्रीमति २१ वर्षीया जानकी नेपाली रहिछन्।
एक छिन पछि केही नर्मल देखिइन् र हामीले जिज्ञाशा राख्यौं। हाम्रो जिज्ञाशामा उनले जुन वृतान्त कहिन् त्यो मुटु छियाछिया पार्ने कहालि लाग्दो थियो।
“मेरै लोग्नेले मलार्इ मरेको लास बनायो। यो मान्छे पहिलेदेखि नै क्रुर,राक्षश रहेछ। नरपिचाश भनेर गाउँबस्तीमा कुख्यात रहेछ। यो जान्दाजान्दै र कतिपयले रोक्दारोक्दै पनि मेरा बाआमाले हुनेखाने परिवारको भनेर यो नरकमा फालिदिए। बिवाह भएको केही दिन पश्चात् नै यो नरपिचाशले आफ्नो स्वभाव देखाउन थालिहाल्यो। राति सधैं जाँड धोकेर आउँथ्यो। आउनासाथ मलाइ लछारपछार गर्थ्यो। मलाइ उत्तानोपारेर यौनकृया गर्थ्यो । यौनकृया सक्नासाथ मेरो यौनाङ्गमा जलिरहेको चुरोट झोसिदिन्थ्यो। कहिले यौनाङ्गमा लठ्ठी घोचिदिन्थ्यो। चुरोट तान्दै आउँथ्यो र मेरै जिउमा झोसिदिन्थ्यो। नजिक जुन सामान भेट्छ त्यसैले हान्थ्यो। एकपल्ट त ग्याँसिलिण्डर नै मेरो टाउकोमा बजारिदियो। म बेहोस भइछु। २ महिनासम्म बेहोस भएँ। बुट लगाउँथ्यो र त्यही बुटले दिनदिनै भकुर्थ्यो। मलाइ पिट्दापिट्दा आफैं थाक्थ्यो। त्यतिञ्जेलमा म मरणाशन्न भैसक्थें। अलि पछपछि त छुरीले चिर्नथाल्यो। छुरीले चिरेका घाउहरू मेरो जिउभरी छ। धेरैपटक मर्ने निर्णय गरें। चार बर्षका, अढाई बर्षका र सोह्र महिनाका तीन सन्तान छन्। तिनीहरूकै मायाले मर्नसकिन।”
यति वृतान्त कहुञ्जेलमा जानकी नेपालीको आँखाबाट बलिन्ध्रधारा आँसु बगिरहेका थिए। उनले पिठ्युँपटीको कपडालाई माथि सारेर देखाइन्। शरीरभरी छुरीले चिरेका घाउहरू थिए। धेरै खाटा बसेका र कति त आलै थिए ।
आँसु पुछ्दै जानकीले त्यो राक्षशको अर्को कर्तुत जुन बताइन् त्यो नरपिचाशले पनि सोच्नसक्दैनथ्यो। जानकीले भनिन् –“४ दिनअघि एकजना आफन्त हाम्रो घरमा आएका थिए।
यही लोग्ने मनोजसँग बात मारिरहेका थिए। मैले चिया ल्याएर दिएँ र आफूपनि नजिकै बसेर चिया पिउँदै थिएँ। उनीहरूका कुरा सुनिरहेको थिएँ। कुनै कुरा सुनेर म हाँस्नपुगिछु। ती आफन्त गैसकेपछि मनोज सरासर भित्र आयो। 'अघि किन हाँसेको ?’ कुनै कुरामा म हाँसेको थिएँ। त्यो सहज, स्वाभाविक हँसि थियो। ‘किन हाँसिस् ?’ भन्दै लछारपछार पार्यो र छुरीले मेरो कान छिनालिदियो। त्यहाँबाट निकै रगत बग्नथालेपछि आफैंले रगत चुस्यो। छुरीले काटेर छिनालेको कान मेरो हातमा राखिदियो र ‘मेडिकलमा गएर जोडिमाग्नु’ भनेर आफू कतैं हिंड्यो।”
यति वृतान्त कहँदाकहँदै जानकी भक्कानिनथालिन्। उनको बोलि रोकियो। त्यहीबेलामा वार्डभिजिटमा डाक्टरहरू आइपुग्नुभयो। जिल्ला अस्पताल प्रमुख डा.सन्दीप ओखेडाले भन्नुभयो – “कानलाइ जोडिदिएका त छौं, तर कत्तिको सफल भयो ? हेर्न बाँकि छ। निरन्तरको यातना र टाउकोलगायत संवेदनशील भागमा परेको चोटका कारण जानकीको मानसिक अवस्थामै असर परेको छ। लामो समय गम्भीर यातना भोगेर उनको दिमागमा गहीरो मानसिक चोट परेको छ र बिक्षिप्त भएकी छिन्। त्यस्ले विगतका घटना बढी स्मरण गराउने भएकाले उनी एकोहोरो टोलाउने, बिनाकारण झस्किने र वर्तमानमा ध्यान केन्द्रित गर्न नसक्नेलगायत समस्या छ। एन्जाइटि डिसअर्डर भएको देखिन्छ।”
मनोजको बर्बरता भन्दापनि जानकीको आक्रोशचाहीं गाउँसमाजका गन्यमान्य भनाउँदा पार्टीका नेताहरूप्रति रहेछ। यी पार्टीलाइ मनोज चाहिने भएकोले मनोजले गरेका चरम अमानवीय, बर्बर अत्याचार जगजाहेर भैरहँदा समेत् यिनीहरूले ढाकछोप गरिरहे। त्यतिमात्र हैन, पटक(पटक प्रहरीमा उजुरीमा उजुरी दिंदापनि यी पार्टीनेताहरूले दबाव दिएर कार्यवाही गर्न रोकेकोमा घोर आपत्ति रहेछ। यो आपत्तिमा अस्पतालका डाक्टरहरू र नर्सहरूले समेत् सहमति जनाए।
जानकी नेपालीमाथि भएका निरन्तर अत्याचारका पीडा सुन्दासुन्दै खपिनसक्नु भएर सबैका आँखा रसाएका थिए। त्यहाँबाट निस्कँदानिस्कँदै हामी के निस्कर्षमा पुग्यौंभने नरपिचाश त्यो मनोज हैनकि मनोजलाइ संरक्षण गर्ने पार्टीका नेताहरू, पुलिसहरू र यो सिष्टम नै नरपिचाश हो।
प्रतिक्रिया थप्नुहोस्