काठमाडौंः बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
बुधबार हेटौँडामा सम्पन्न निर्वाचनमा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना विजयी भएका हुन् ।
बागमतीको रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै पौडेल र तिमल्सिना निर्वाचित भएको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए
तिमल्सिना ४६३ र पौडेल ४५० मतभारले विजयी भएका हुन् ।
महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८२४ मतभार प्राप्त गरेकी हुन भने उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) बाट उम्मेदवार बनेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३६२ मत र नेमकिपाको महिला उम्मेदवार गीता काफ्लले १३२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी अन्य सदस्य पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पौडेलले ४ हजार ७९४ मतभार प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिस्पर्धी एमालेका तर्फबाट उम्मेदवार बेका गोपाल शाक्यले ४ हजार ३४४ मतभार प्राप्त गरे । नेमकिपाको तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
प्रदेशसभाका कूल १०९ जना मध्ये १०६ जना मात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए । विवेकशील दलको तीन जना प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भएका थिएनन । निर्वाचनमा बागमती प्रदेशका १०९ सदस्य र ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका थिए ।
प्रतिक्रिया थप्नुहोस्