सामाजिक सञ्जाल र न्यू मिडिया व्यवस्थित गर्न विश्वकाे साझा आचारसंहिता बनाउन नेपालको प्रस्ताव 

केन्या :विश्व प्रेस काउन्सिलको केन्याको नैरोबीमा जारी साधारणसभामा नेपालले सझा आचरसंहिता बनाउनु पर्ने प्रस्ताव गरेको छ। 

नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालको प्रतिनिधित्व गर्दै सभामा उक्त प्रस्ताव गरेका हुन्। उनले सामाजिक सञ्जाल र न्यू मिडियालाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने प्रस्ताव राखेका छन् । 

ad

अध्यक्ष बस्नेतले सामाजिक सञ्जाललाई रचनात्मक बनाउन नेपालमा धेरै खालका प्रयासहरु भएको अवगत गराउँदै यसलाई मर्यादित र व्यवस्थित बनाउनु जरुरी भइसकेको बताए ।

डब्लुएपीसको बुधबार सम्पन्नसाधारण  सभामा बस्नेतले भने "हामीले सामाजिक सञ्जाललाई आचारसंहिताको परिधिभित्र बाँध्न विभिन्न प्रयासहरु गरेका छौं । यसलाई रचनात्मक बनाउन नेपालमा  विभिन्न कामहरु काउन्सिलले गरिरहेको छ । सबैतिरको अनुभव साटासाट गर्दै साझा खालको आचारसंहिता निर्माण गर्न सकिन्छ ।"

उनले मिडियालाई समस्या रहित बनाउन र सक्षम जनशक्ति थप्न सञ्चार सचेतना अभियानलाई सबैतिर जोड दिनुपर्ने सुझाव दिए ।

उद्घाटन मन्तव्य राख्दै केन्याका सूचना तथा सञ्चार मन्त्री जो मुचेरोले काउन्सिलका विश्वभरका प्रतिनिधिहरुलाई स्वागत गर्दै यस्ता मञ्चबाट न्यू मिडियाले ल्याएका विश्वव्यापी चुनौति सम्बोधन गर्नुपर्ने धारणा राखे ।राजनीतिक, समाजिक समस्या र खिचातानीका बाबजुद मिडियाले आफ्नो खास धर्म कहिले छाड्न नहुने तर्फ उनको जोड थियो ।

विभिन्न ३ दर्जन मुलुकका अध्यक्ष र प्रतिनिधि सहभागी बैठकमा नेपालबाट अध्यक्ष बस्नेत, प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र काउन्सिल सदस्य ठाकुर बेल्बासेको सहभागीता रहेको छ । 

विश्व प्रेस काउन्सिलका महासचिव समेत रहेका श्रेष्ठले संस्थाको प्रतिवेदन राख्दै समय परिवर्तनसँगै मिडियामा विभिन्न समस्या थपिएको भन्दै संस्थाले त्यसलाई सम्बोधन गर्नुपर्ने धारणा राखे ।विश्व प्रेस काउन्सिलका अध्यक्ष प्रा.डा.सुले अकरले सबै देशबाट आएका सुझावमा छलफल गरेर केन्या घोषणापत्र जारी गर्ने जानकारी समेत दिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै