काठमाडौंः यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ ।

विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर यस्तो आँकलन गरेको हो ।

ad

नेपालमा मनसुन शुरू हुने संशोधित औसत मिति जुन १३ हो । तर यस वर्ष भने जुन १ (जेठ १८ गते) देखि नै मनसुन सुरु हुने पूर्वानुमान गरिएको छ ।

आगामी जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा प्रदेश नं. १ का तराईका भूभाग, वागमती प्रदेशका उत्तरपूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तरपश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले जानकारी दिइन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग, गण्डकी प्रदेशका मध्यपश्चिमी भूभाग र प्रदेश नं १ को मध्य भूभागहरुमा पनि सरदर भन्दा बढी वर्षा हुने सम्भावना छ । यी भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ ।

यस्तै गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागहरुमा पनि सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ । तर प्रदेश नं। १ का उत्तरी भूभाग, वागमती प्रदेशका दक्षिणी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागहरुमा सरदर वर्षा हुने आँकलन मौसमविदले गरेका छन् ।

विभागले नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारूपको मनसुन अवधिको आँकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्री–मनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तन शीलताका कारकलाई समेत मध्यनजर गरी सो  प्रक्षेपण तयार पारेको जनाइएको छ ।

विभागले विश्व मौसम संगठनको विश्वभर र क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आँकलन, विभागको आँकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनलाई समेत आधार मानेको जनाइएको छ ।

विभागले सन् २०२० देखि आफैं पनि मनसुनको अवधि र हिउँदको अवधिको मौसम आँकलन गर्दै आएको छ । विभागकी वरिष्ठ मौसमविद् डा। इन्दिरा कँडेलले अहिलेको मौसमको अवस्था हेरेर पछि हुने अवस्थाको आँकलन गरी यस्तो विवरण सार्वजनिक गरिएको बताइन् । उनले विगत ३० वर्षको मनसुनको समयको अवस्थालाई विश्लेषण गरेर यस्तो तथ्य निकाल्ने गरिएको बताइन् ।

उनका अनुसार, ३३.३ प्रतिशतभन्दा तललाई सरदरभन्दा कम, सोदेखि माथि ६६.६ प्रतिशतसम्मलाई सरदर र त्योभन्दा माथि भएमा सरदरभन्दा बढी पानी पर्ने अवस्था रहेको मान्ने गरिन्छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै