काठमाडौं : श्रीलूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले तीनजना स्रष्टालाई सम्मान गरेको छ।
मन्दिरले संस्कृतिविद् प्रा.डा.त्रिरत्न मानन्धर, तेजेश्वरबाबु ग्वङ्गः र गीतसाधक न्हुछेबहादुर डङ्गोललाई सम्मान गरेको हो । प्रा.डा. मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान, ग्वङ्गः लाई सरस्वती सम्मान र डङ्गोललाई नारायण गोपाल संगीत सम्मान प्रदान गरिएको हो ।
बसन्त चौधरी फाउण्डेशन द्वारा काठमाडौंमा आयोजित एक विशेष कार्यक्रम मानन्धर, ग्वङ्गः र डङ्गोललाई संस्थाका अध्यक्ष बसन्त चौधरी र कार्यक्रमकी प्रमुख अतिथि प्रा.डा.उषा ठाकुरले संयुक्त रुपमा सम्मान प्रदान गरेका हुन।
मन्दिरको २८औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्मानित स्राष्टा प्रा.डा. मानन्धरले सम्मानले आफुमा जिम्मेवारी बढाएको बताए । उनले संस्थाका अध्यक्ष चौधरीको बहुप्रतिभाशाली व्यक्तित्व भएको चर्चा गर्दै चौधरी राष्ट्रकै एक महत्वपूर्ण व्यक्तित्व भएको बताए ।
संस्थाका अध्यक्ष चौधरीले साहित्य संगीत र कला सिर्जनशील विधा भएको बताउँदै यी तीनवटै विधाले आम मानिसलाई चेतना दिने बताए । उनले साहित्यबाट प्राप्त हुने आनन्द अन्य कुनै पनि वस्तु या विषयबाट प्राप्त नहुने दावी समेत गरे ।
अध्यक्ष चौधरीले भने – ‘सूचना र प्रविधिको विकासका कारण आज हरेक विश्वका पाठकसंग पुग्न सक्छ । यस कारण अब स्रष्टालाई विश्व मञ्च छिन भरमै प्राप्छ हुन्छ । तर सिर्जना भने उत्कृष्ट रर शक्तिशाली हुनु पर्यो।'
कार्यक्रममा डा.अस्मिता अर्याल द्वारा लिखित पुस्तक ‘मैले बुझेको दुनियाँ’ को विमोचन गरिएको थियो । विमोचित पुस्तकमाथि फाउण्डेशनकी उपाध्यक्ष एवं प्रकाशक मेघा चौधरीले टिप्पणी गरेकी थिइन । उनले डा अर्यालको लेखन शक्तिशाली भएको बताइन । कार्यक्रमको संचालन कवि एवं साहित्यकार राजेन्द्र शलभले गरेका थिए ।
प्रतिक्रिया थप्नुहोस्