ज्यामीतिय गणितको आधारसूत्र खुसीको फड्को

  (बुँदागत टिपोट– भाग १)

डा.रामप्रसाद दाहाल


१.हवाइ विमोचनपछि गृह–विमोचनको नाम दिएर नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा खुशीको फड्को सार्वजनिक भएको छ ।

२.नेपाल स्रष्टा समाजद्वारा प्रकाशित १७४ पृष्ठको यो कृतिमा १४ वटा कथाका शीर्षकहरुको संकलन रहेको छ । यो संकलन अरुको होइन सरिताको सोचाइ भोगाइ र मनकै संकलन हो ।

३.प्रत्येक कथाहरु अतिरञ्जनात्मक र उडन्ते नभई समाजलाई मजाले बाँधेर राखेको देखिन्छ, अर्थात् यसो भनौँ यस कृतिमा नसोचेका र परिकल्पना नगरिएका विषयहरु तँछाड मछाड गरेर जन्मिएको छ । 

४.खुशीको फड्को भित्र समाज,पागल, भुमरी भित्र,पारपाचुके, दसैँ र अतीत, शिवरात्रिकी वेगम, पर्दाभित्र, खुशीको फड्को, सपना कतिपय, रेमिट्यान्स प्रेम अंशमा आस्मिता,आर.डी. मुखिया, पैसामा प्रेम, मातृत्व शीर्षकका १४ कथाहरु छन् ।

५.प्रत्येक कथाहरु ‘आइज त नानी तातै भात खाइहाल’ भनेर समाज कथाबाट सरिताले आरम्भ गरे पनि प्रत्येक कथाभित्रको नतिजाले ‘तातै खाऊँ जल्दी मरौँ’ भन्ने अर्थ मै विषय रोजिएको छ।

६.कतिपय घटना र पात्रहरुले दुःख सहेर पनि प्रसन्नता छर्न विदेश मन पराइरहेको, जन्मघर र कर्मघरका फरक कित्तामा बगैँचा बनाइरहेको, आम्दानीको स्रोत नै रेमिट्यान्स मानिएको, प्रेमीहरु पागलप्रेमी बनेको,लुटतन्त्र, छुटतन्त्र मच्चिएको कुरा कथामा पात्रले घटनालाई पचाएरै अगाडि बढेका छन् ।

७.खुशीको फड्कोलाई अत्यन्त गहिरो रुपमा दार्शनिक कसिमा ढालेर हेर्ने हो भने पुरुष वा नारी पात्रहरुको दैनिकी हेर्दा अनन्त शक्ति, सहजसक्ति र सम्बन्ध शक्तिका त्रिकोणात्मक रुपहरु कृतिमा देख्न सकिन्छ । जीव, प्रकृति, आकाश, फनफनी घुमेको देखिन्छ । (कहाँ–कहाँ देखिन्छ अर्काे अंकमा लेखिन्छ)

८.उल्लेखित शक्ति मध्ये पनि सम्बन्ध शक्ति यस कृतिमा ज्यादा देखिन्छ । पद र पदार्थमा रहने वाक्य वाचक सम्बन्धको नाम खुशीको फड्कोमा ज्यादा भेटिन्छ ।
९.संसारका सबै मानिसहरु आफ्नो कार्य अनुसार व्यक्तित्व निर्माण गर्छन्, एक अर्कासँग मिल्दैनन्, किनकि व्यक्तिमा ज्ञानादी गुण पनि हुनछ, दैत्य राक्षस र पिशाचका स्वरुप पनि रहन्छ । यस बाट सरिताको खुशीको फड्को कथाको घटना, पात्रविधान, उद्देश्य, सम्वाद, परिवेश पर जानसक्ने कुरै भएन ।

१०.त्यसैले त खुशीको फड्को भित्रको कथाहरुले प्रष्ट बोल्छन् — सबै लोग्ने मान्छे पनि असल छैनन्, नारी पनि छैनन् । अर्थात् पुरुष र नारीमा रहेका कमजोरीलाई कथाले चित्रण गरेको छ। 

११.खोज्दै जाँदा कथाभित्र बुद्धका उपदेश पनि भेटिन्छ— जीवन दुःख हो, दुःखको कारण छ, दुःख निवारणका उपाय छन्, दुःख मुक्तिको स्थिति छ ।

१२.मानिस संसारमा दुई भागमा विभक्त छ— भोगी र जोगी । यस खुशीको फड्कोमा धेरै जसो पात्रहरु भोगीपन भई रमाएका छन् । 

१३.कथाभित्र कतै कतै स्वामी आनन्द अरुणले भनेजस्तै कुरा पो खोजिरहेको जस्तोलाग्दछ । जस्तै— ‘म एक यस्तो मनुष्यको परिकल्पना गर्छु, जसमा यी दुवै गुण हुन । त्यसैले जीवन हुनुपर्दछ । समृद्ध, सुन्दर, स्वास्थ्य,, उत्सवपूर्ण, अनि धर्म र ध्यानको शान्ति, अनि मौनताले सुवासित । यो प्रयोग अहिलेसम्म पृथ्वीमा गरिएको छैन । व्यक्ति कोही भोगवादी भए, कोही त्यागवादी, कोही रागी त कोही वैरागी । ओसोले कल्पना गरेको नयाँ मानव वितरागी हुन्छ । जसमा राग र वैराग्य दुवैको सन्तुलन हुन्छ । त्यही वाह्य र अन्तरमा समृद्ध हुन्छ । त्यसैले विज्ञान र धर्म दुवै अनिवार्य हुनछ जसमा विज्ञानले ल्याउँछ भौतिक समृद्धि, धर्मले ल्याउँछ आन्तरिक सन्तोष ।

१४.सरिताको १४वटै कथाले खोजेको उद्देश्य बुँदा नं.१३ नं. हो जस्तो लाग्दछ । अर्थात् जीवनप्रति पूर्ण स्वीकार भौतिक सुख सुविधाको स्वीकृति सँगै ध्यान, मौन र ज्ञानको गरिमा बढोस् भन्ने चाहना देखिन्छ ।

१५.पात्रले संवादलाई अर्थात् कथोपथनलाई समेटेको छु । विषय र घटनालाई बढाउन प्रयोग भएका पात्रहरु सन्तुलित छन् । धेरै खाएर नपचेको झुसिलो डकार पोखिएका छैन । जो स्वागत योग्य छ ।

१६.देश काल परिवेश जताको लेख्न खोजेको छ त्यतै देखिन्छ । समाज कथाको परिवेश र खुशीको फड्को कथाका पात्र बुढा र ब्युटिफुलका बारेमा गरिएको सूत्र वर्णन पनि पर्याप्त देखिन्छ ।

१७.मातृत्वको प्रबलता कस्तो हुन्छ — कथामा सरिताले प्रष्ट्याएकी छिन्— कस्तो हक्की र डरलाग्दो तरिकाले (पृष्ठ १७१) मलाई समाज पनि चाहिएन, घर पनि चाहिएन, पैसा पनि चाहिएन, तर मेरो सन्तान तिमीलाई दिन म आफैँ पाल्छु । यसलाई — भने पुगेन त अब !

१८.पैसामा प्रेम कथामा राखिएको (पृष्ठ १६०) सबै नेपाली महिला बदमास त भन्न सक्तिनँ, किनकि सुनी पनि नेपाली हजूर पनि नेपालीको । तर कति भिन्नता देखिन्छ हजुरहरु दुईमा । आर.डी. मुखिया कथामा समाविष्ट (पृष्ठ १४६) एउटा सपना थियो समाज रुपान्तरको । के के न गरिएला भनेर भुमिगत भएर हिँडियो .....।’ अंशमा अस्मिता कथाका यी पंक्तिले पनि सन्देश दिइरहेका छन्— ‘धेरै अँध्यारो कोठै सुनसान, जिन्दगी उजाड भैसकेको थियो । जति रोय पनि गएको मान्छे फर्किएन, तोते बोलीमा कान्छी छोरीले’ भाइ हमर बापु कते गेले ? कैया ए ते ? भन्दा सासै रोकिएला जस्तो भयो । धेरै छन्— जोड्ने प्रसङ्गहरु कथामा....।

१९.कथाभित्र पूर्व दृश्यहरु रत्यौली खेल्छन् — विषयले १६ श्रृङ्गार लगाउँछन्, घटना प्रधान बनिदिन्छन् । हाम्रै घर छिमेक वरपरका पात्रहरुले घटनालाई बोकेर जीवन्त बनाइरहेका छन् । प्रगति, वेदना, समवेदना इमानदारी, नैतिकता, उकुसमुकुस व्यथा विलौना, चोटक पटक, पीडा भित्रको नारीका दुःख सुखलाई वरण गरिएको छ । यौन चेतना र भोगाइ सोचाइ गुजुल्टिएको पाइन्छ । के छैन सबै छ,सिङ्गो नेपाल छ भनी विदेश पनि । 

२०.सरिताको खुशीको फड्कोमा भनाइमा स्पष्टता छ । बौद्धिक प्रखरता छ । पात्रको बोलीचालीमा मीठासता छ । शैली सरल र पाच्य छ। 

२१.कथामा राखिएका शीर्षक नै बोलिरहेका देखिन्छन् । सामाजिक यथार्थता, यौनिक यथार्थता । अति यथार्यता,अनेक वाद र प्रयोग चाहिँदैन । हामीले ABC= CAB भनेर ज्यामितिय गणितमा फ्रुफ गरेझैँ शीर्षकलाई घटना, पात्र, परिवेश, कथोपकथन, उद्देश्य र शैलीको आधारर मा पुष्टि गरिएको छ।कथामा इतिबृतित्तात्मक शैलीको प्रयोग गरिएको छ।  

२२.सरिताको खुसीको फड्को  सरकारी पत्र लाई चलानी गर्ने बेलामा लगायको स्ट्याम छाप जस्तो छ।जसले समाजको तीतो सत्यलाई छाप ठोकेर  कृति प्रकाशित गरि चलानी गर्नु भएको छ।जस्ले गर्दा  लेखक लाई  सामाजिक घात प्रतिघातप्रति जीवन्त र सुन्दर  शैलीमा राख्न सफलता मिलेको छ।

सार मा भन्दा बाझो खेतमा हली आए जस्तो छ।बाझो खेतमा हली आए जस्तो छ।बैशाली रुप उन्मुत भएर दुख बिर्सदै छ।प्रकृति हास्न खोजे जस्तो छ।बास्तवमा भन्दा सामाजिक रुपान्तरणमा कृति उभिएर बसेको छ।तर त्यो हेर्न सत्यका लागि चस्मा फेर्न अति आवश्यक छ।जे होस कथाले समाज लाई फोर्न भन्दा जोडन ज्यादा जोड दिएको छ।प्राप्तिका साधन र बाटाहरु फरक होलान् तर पुग्ने ठाउ जान त सामाजिक रुपान्तरण नै जरुरी छ।यही सत्री बिधा लाई सरिता का कथा ले पछ्याइ रहे झै लाग्छ।

                                                            

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै