कृष्ण मन्दिरमा भक्तजनको भीड,कृष्ण र राधाको भेषमा बालबालिका(फोटोमा हेर्नुस्)

काठमाडौंः श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरमा बिहानै देखिभक्तजनको भीड लागेको छ । 

ललितपुरको मङ्गल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । मन्दिरमा ठूलो मेला लागेको छ । बालबालिकाहरु र भक्तजन कृष्णको भेषमा सजिएर मन्दिर पुगेका छन्।

कृष्ण मन्दिरमा दर्शन गर्न बिहानैदेखि  भक्तजनको लामो लाइन छ । स्वयंसेवकहरुले उनीहरुलाई पालैपालो दर्शन गर्ने व्यवस्था मिलाएका छन् । प्रहरी भने सुरक्षाका लागि खटाइएको छ । 

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकालेका छन् । 

यस्तै, तनहुँको व्यास नगरपालिका–३ स्थित श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक केन्द्रले शुक्रबार बिहान दमौलीमा निकालेको शोभा यात्रामा कृष्ण र राधाको भेषमा बालबालिका सजिएका थिए । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ तनहुँले निकालेको र्यारलीमा  महिलाहरूले नृत्यगरेका थिए । 

जनकपुरमा पनि कृष्ण जन्माष्टमीको अवसरमा कृष्ण र राधा जस्तै स्वरुपमा सजाइएको देखन सकिन्छ । 

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै