काठमाडौंः दसौँको किनमेल स्वदेशमै गर्न नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले उपभोक्ता सचेतना अभियान सञ्चालन गरेको छ । सिमावर्ती भारतीय रुपैडिहामा किनमेल गर्न जाने नेपाली ग्राहकलाई लक्षित गरी नेपालगञ्जमा उपभोक्ता सचेतना र अवैध आयात रोकथाम लगायतका अभियान सञ्चालन गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी वलीले जानकारी दिए। 

उनका अनुसार नेपालीका चाडपर्वमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउन सीमा क्षेत्रमा उपभोक्तालाई पर्चा पम्प्लेटका साथ सचेतना गराइने भएको छ । नेपालगञ्जमै गुणस्तरीय तथा सस्तो पाइने सामग्रीसमेत भारतीय बजारमा खरिद गर्न पुग्ने उपभोक्ताको धारणामा परिवर्तन ल्याउने गरी सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।

 दसैंँको किनमेल गर्न भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित् छन् । बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यान लगायतका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् । सिमापारी भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको बाक्लो उपस्थितिले नेपालगञ्जका व्यापारीलाई वर्षौंदेखि पिरोल्दै आएको छ । सरकारी निकायको उदाससिनताका कारण नेपालगञ्जमा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ताहित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतम बताए । 

“गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार हो, भारतीय व्यापारीको तुलनामा नेपालगञ्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्नु र रुपैडिहामा सस्तोमा पाइन्छ भन्ने भ्रम चिर्न नसक्नु कमजोरी हो”,उनले भने,“नेपालगञ्जका व्यापारीमा उपभोक्ता आकर्षण गर्ने व्यवहारिकता भन्दा पनि वस्तु तथा सेवा लाद्ने प्रवृति पनि हानिकारक रहेको छ ।”

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै