अनलाइनका माध्यमबाट झूटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीको विषय : राष्ट्रपति

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना र सञ्चारका क्षेत्रमा भएको नयाँ प्रविधिको विकाससँगै देखापरेको सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झूटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीको विषय भएको बताएकी छन् । 

प्रेस काउन्सिल नेपालको ५३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विश्वव्यापी चुनौतीका रूपमा रहेको सञ्चारका अनलाइन माध्यमलाई बढी मर्यादित र प्रभावकारी बनाउनका लागि काउन्सिलले अनलाइन सञ्चालन गर्नुअघि अनिवार्य अभिमुखीकरणको व्यवस्था गरेकामा खुसी व्यक्त गरिन् । राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त समारोहमा उनले पत्रकारिताको पेशागत आचरण कायम राखी स्वच्छ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकासका लागि प्रेस काउन्सिल स्थापना गरिएको स्मरण गर्दै त्यसका लागि उक्त संस्थाले निरन्तर भूमिका खेलिरहने पनि बताइन् । 


पत्रकारको अभिभावक संस्था काउन्सिलले पत्रकार आचारसंहिताको पालना गर्ने पत्रकारलाई पुरस्कृत गर्ने र उल्लङ्घन गर्नेलाई कारवाही गर्दै आएको भन्दै प्रशंसा गरिन् । समारोहमा उनले संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र सुदृढ तुल्याउन संवैधानिक प्रावधानलाई राज्यका सबै अङ्गले गम्भीरतापूर्वक पालना गर्नुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र आगामी मङ्सिर ४ गते हुन लागेको सङ्घ तथा प्रदेशसभाको आवधिक निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न नागरिक समुदायका रूपमा रहेको पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । 

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोकतन्त्रको जगका रूपमा रहेको स्थानीय सरकार निर्माण भइसकेको स्मरण गर्दै आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा पत्रकारको अझै ठूलो योगदानको अपेक्षा रहेको बताए । मन्त्री कार्कीले भने, “हामी अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सङ्घारमा छौँ, तपाईं पत्रकार र प्रेस काउन्सिलको अझै बढी योगदान समाजले चाहेको छ, सरकार स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीयरूपमा निर्वाचन सम्पन्न गराई जनमतमार्फत मुलुकलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउने आकाङ्क्षालाई सफल बनाउन प्रतिबद्ध छ ।” उनले त्यसका लागि सकारात्मक योगदान गर्न आग्रह गरिन् ।

उनले मञ्चमा आएर कर्तव्य र अधिकारको कुरा गर्न सहज हुने उल्लेख गर्दै तर त्यसलाई व्यवहारमा परिणत गर्न कठिन हुने भएकाले कार्यान्वयनतर्फ लाग्न ध्यानाकर्षण गराइन् । प्रेस काउन्सिल कुन उद्देश्यका साथ स्थापना भएको हो र त्यो उद्देश्यमा काउन्सिल कति अघि बढेको छ, अहिलेको समयको चुनौतीलाई सामना गर्न कति सक्षम छ, त्यसतर्फ पनि विश्लेषण गर्नु जरुरी रहेको उनले औँल्याए । मन्त्री कार्कीले काउन्सिलप्रति समाजले अझै धेरै अपेक्षा गरेको बताउँदै प्रेरणाको स्रोत बन्न युवा पत्रकारलाई आग्रह गरे ।

समारोहमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राष्ट्रभित्र विविध समस्या उत्पन्न भएकाले राष्ट्रियताका सवालमा होस् वा देश निर्माणको अन्य अभियानमा सबै राजनीतिक शक्ति गम्भीर र सचेत हुनुपर्नेमा जोड दिए । उक्त अभियान सफल बनाउन सञ्चार जगतको महत्वपूर्ण भूमिका हुने उनको भनाइ थियो । उनले मुलुकमा देखिएको नकारात्मक चिन्तनलाई सहमतिको बाटोमा ल्याउन भूमिका खेल्नुपर्ने भएकाले पर्याप्त ध्यान पु¥याउन सबै सञ्चारमाध्यमलाई आग्रह गरे । 

अध्यक्ष बस्नेतले को पत्रकार हो र को होइन भन्ने छुट्याउन गाह्रो भएको तथा निष्पक्षता एवं तथ्यमा नै शङ्का हुने गरी मिडियामा सामग्री आउँदा विश्वसनीयता नै खलबलिएको बताए । त्यसैले मिडियालाई बलियो बनाउनका लागि पनि विश्वसनीय पत्रकारिताको खाँचो रहेको उनले औँल्याए ।

 कार्यक्रमको संचालन काउसन्सिल बोर्ड सदस्य ठाकुर बेलवासेले गरेका थिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै