मोरङमा गठबन्धनले टुङ्गयायो भागबण्डा,कसको भागमा कति? 

काठमाडौंः सत्ता गठबन्धनका प्रमुख चार दलबीच मोरङका ६ वटै निर्वाचन क्षेत्रमा लगभग सहमति भएको नेताहरुले बताएका छन् । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनबीच भागबण्डाका क्रममा मोरङको ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा कांग्रेसलाई र २ वटा माओवादीलाई दिने सहमति भएको कांग्रेस मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बूले जानकारी दिए । उनका अनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर ४ र ५ माओवादीले प्राप्त गर्ने छ । 

क्षेत्र नम्बर ४ मा ०७४ को निर्वाचनमा बाम गठबन्धनबाट माओवादी केन्द्रका अमनलाल मोदी निर्वाचित भएका थिए । मोरङ ५ मा माओवादीकै शिवकुमार मण्डल विजयी भएका थिए । ती दुबै क्षेत्रमा अहिले पनि कांग्रेसले दाबी भने छाडेको थिएन । ४ नम्बर क्षेत्रमा कांग्रेसका नेता महेश आचार्यले अन्तिम पटक आफू नै उठ्ने भन्दै चुनावी अभियान संचालन गरिरहेका छन् । ५ नम्बर क्षेत्रमा नेता अमृत अर्यालले दाबी गरेका थिए । अर्यालको नाम दुबै क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस भएको थियो । 

यता, मोरङ ५ मा भने आफूहरूको जनाधार राम्रो भएकाले त्यो क्षेत्र प्राप्त गर्नुपर्ने जसपाले दाबी छाडेको छैन । पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले गठबन्धनबाट आफूहरूले टिकट नपाए एकल रुपमा उमेदवारी दिने बताएका छन् । यसअघिको निर्वाचनमा यादव तेस्रो भएका थिए । दोस्रो बढी मत कांग्रेसका अमृत अर्यालले प्राप्त गरेका थिए ।
 
पार्टी सभापति लिम्बूका अनुसार अब कांग्रेसले निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ६ प्राप्त गर्नेछ । उनका अनुसार प्रदेश निर्वाचन क्षेत्र कसले कति लिने भन्ने तय हुन बाँकी छ ।

सहमति भएको खण्डमा मोरङको क्षेत्र नम्बर १ बाट कांग्रेसका डिकबहादुर लिम्बू, २ नम्बर क्षेत्रमा कांग्रेसका डा।मिनेन्द्र रिजाल र सुजाता कोइरालामध्ये एक जना, ३ बाट कांग्रेसका सुनिल शर्मा, ४ बाट माओवादीका अमनलाल मोदी, ५ बाट माओवादीकै शिवकुमार मण्डल र मोरङ क्षेत्र नम्बर ६ बाट कांग्रेस नेता डा.शेखर कोइरालाले एमालेसँग प्रतिस्पर्धा गर्नेछन् ।

एमालेले भने १ नम्बर क्षेत्रमा घनश्याम खतिवडा र शिवमाया तुम्वाहाम्फेमध्ये एक जना, २ बाट ऋषिकेश पोखरेल, ३ बाट भानुभक्त ढकाल, ४ बाट विनोद ढकाल, ५ बाट गयानन्द मण्डल र ६ नम्बरबाट लालबाबु पण्डित र टिकाराम पुरीमध्ये एक जनालाई उम्मेदवार बनाउने सम्भावना छ ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै