काठमाडौंः वरिष्ठ युरोलोजिष्ट प्रा.डा अर्जुनदेव भट्टद्वारा लिखित दुईवटा पुस्तक सार्वजनिक गरिएको छ।
काठमाडौंको धुम्बराहीमा आइताबार दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषद्धारा आयोजित कार्यक्रममा भट्टका मानव स्वास्थ्य सम्बन्धी ‘डाक्टरको द्धिविधा’ र मूत्र र ‘जननेन्द्रियप्रणाली रोग,निदान तथा उपचार’ लोकार्पण गरिएको हो । युरोलोजिष्ट डा.उत्तम शर्मा,साहित्यकारहरु कलानिधी दाहाल,डा.दामोदर पुडासैनी, हरिभक्त सिक्देल (महेश) र उक्त पुस्तक संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
डाक्टरको द्धिविधा पुस्तकमाथिका बारेमा चर्चा गर्दै साहित्यकार कलानिधी दाहालले यस पुस्तकमा नेपाली समाजमा स्वास्थ्यप्रतिको बुझाइलाई समेटिएको बताए । उनले अहिलेसम्म कायम रहेको स्वास्थ्य सम्बन्धी अन्धविश्वास (जंगली मनोविज्ञान) र त्यसले पारिरहेको असरबारे पनि पुस्तकमा प्रष्ट पारिएको बताए । बिरामीलाई अस्पता भर्ना भइसकेपछि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया र व्यवहार बारे जानकारी दिइएको यो पुस्तकलाई स्वास्थ्यकमीहरुले मार्गदर्शकका रुपमा लिनुपर्नेमा जोड दिए । साहित्यकारहरुले चिकित्सा क्षेत्रमा भएका प्रतिबिम्वहरुलाई बुझनका लागि यो पुस्तक उपयुक्त हुने उनको भनाइ छ ।
यस्तै, डा.दामोदर पुडासैनीले भट्टद्वारा लिखित ‘जननेन्द्रियप्रणाली रोग,निदान तथा उपचार’ माथि चर्चा गरेका छन् । हरेक बिरामीलाई डा. उपलब्ध कठिन रहेको भन्दै त्यसकिसिमको समस्याको समाधानका लागि डा.भट्टको यो पुस्तक उपयुक्त भएको दाबी गरे । उनले यो पुस्तक पढेर हरेक मानिसले आफ्नो स्वास्थ्य सम्बन्धी समस्या थाहा पाउनका साथै उपचारका लागि पनि सहयोग मिल्ने बताए । नेपालका मात्रै नभएर विश्वभरका मानिसहरु मूत्र र यौनसम्बन्धी रोगका बारेमा जानकारी गराउन लजाउने र डराउने बताउँदै उनले यस पुस्तकले त्यस्ता समस्या सार्वजनिक गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै युरोलोजिष्ट डा.उत्तम शर्माले डा.भट्टको यी पुस्तक हरेक नेपालीलाई स्वास्थ्यको गाइडका रुपमा रहेको बताए । एकदमै सरल सबैले बुझ्न सक्ने भाषामा स्वास्थ्य सम्बन्धी विषयलाई समेटिएको यो पुस्तक आमजनताका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । सरकारले विज्ञ तथा अनुभवि डाक्टर,स्वास्थ्यकर्मीका अनुभवको उचित व्यवस्थापन गरी हरेक जनतालाई स्वास्थ्य सम्बन्धी सचेत गराउनुपर्नेमा जोड दिए । साथै उनले आगामी दिनमा स्वास्थ्य सम्बन्धी आफ्नो अनुभव समेटेर पुस्तक प्रकाशन गर्ने लक्षय रहेको बताए ।
पुस्तकका लेखक डा भट्टले आफ्नो ५० वर्षे स्वास्थ्य अनुभवलाई पुस्तकमा समेटेको भन्दै यो हरेक मानिसहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उनले नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि देशको व्यवस्था नै परिवर्तन हुनुपर्ने बताए ।
नेपालीहरुमा आफ्नो देशको भन्दा विदेशको स्वास्थ्य सेवाप्रति विश्वास गर्ने परिपार्टी रहेको बताउँदै उनले यस्तो नकारात्मक सोचलाई सबैले त्यागेर स्वास्थ्य क्षेत्रलाई मजबुद बनाउनमा हातेमालो गर्नुपर्नेमा जोड दिए ।
साहित्यकार,चिकित्सक,विभिन्न संघसंस्थाका व्यक्तिहरु उपस्थित रहेको उक्त कार्यक्रमको सभाध्यक्ष डा.दामोदर पुडासैनी थिए भने साहित्यकार भैरवी भूगोलले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
प्रतिक्रिया थप्नुहोस्