"आजका बालबालिका र समसामयिक सन्दर्भ "

आजका बालबालिकाहरू भोलीका देशका  कर्णधारहरु हुन् यसमा कुनै दुइमत छैन् । तर आजको यथार्थता अनि वास्तविकतामा धेरै भिन्नता छ । आजका बालबालिकाहरु हिजोको बालबालिकाहरुको तुलनामा हरेक क्षेत्रमा अगाडि रहेका छन् चाहे त्यो शिक्षा,खेलकुद,कलाको क्षेत्र या अन्य कुनै क्षेत्र होस्  आजका बालबालिकाहरु हरेक क्षेत्रमा सक्षम छन् ।

आजको बैज्ञानिक अनि प्राबिधिक युगमा विभिन्न प्रबिधिको प्रयोगले विशेषगरी सामाजिक  संञ्जालहरुको प्रयोगले बालबालिकाहरुको दैनिक जीवन यति धेरै प्रभावित भएको छ कि यसको अभावमा यिनिहरुले आफूले-आफूलाई एक्लो महशुस गर्नु कुनै नौलो कुरा होइन । अब प्रश्न यो उठ्छ यति धेरै क्षमतावान भएर पनि  बालबालिकाहरुले गर्ने  प्राबिधिको प्रयोग आफ्नो  क्षमता विकासकोलागि कति हदसम्म सहायक सिद्ध हुनसक्छ  ?

समस्यालाई खोतलेर हेर्ने हो भने आजको यो समस्या निकै गहिरिदै गइरहेको छ र भोली गएर यसले व्यक्तिगत रुपमामात्र नभएर सामाजिक रुपमा अझै भयावह स्थितिको सृजना गर्दैन भन्न सकिँदैन ।

प्राबिधिक र बैज्ञानिक रुपले प्रभावित जीवनशैली र हरेक सकारात्मक र नकारात्मक पक्षको ज्ञात तथा जानकारी हुँदाहुँदै पनि आजका अधिकांश बालबालिकाहरु गलत बाटोतिर उन्मुख हुँदै गइरहेको यथार्थलाई पनि यहाँ नकार्न  सकिदैन । कारण जुन रुपमा स्वच्छ र सुन्दर समाजको निर्माणमा यिनिहरुको जिम्मेवारी र संग्लनता हुनुपर्ने हो संतोषजनक रुपमा यसको प्रभावकारिता जम्नसकेको छैन् ।

आजका अधिकाशं बालबालिकाहरु जुन रुपमा गलत संगत तथा जीवनप्रति नैराश्यता बोकेर अगाडि बढिरहेका छन् यसको जिम्मेवारी कसले लिने ? भन्नुको तात्पर्य यसप्रतिको जिम्मेवारी कसको ?

सरल रुपमा भन्ने हो भन्ने हो भने वर्तमान समयमा  जुन रुपले  अधिकांश बालबालिकाहरु तथा युवाहरुले आफ्नो परिवारप्रतिको ,समाजप्रतिको,देशप्रतिको जिम्मेवारी,दायित्व र कर्तव्यलाई बिर्सेर आफ्नो जीवनलाई कुसंगत तथा कुलतको साथै अन्य सामाजीक अपराधतिर धकेलीरहेका छन् यसको जिम्मेवार कसलाई मान्ने ? गहिरिएर सोच्ने हो भने यी सबै कुराहरुको जिम्मेवार  अरु कोही नभएर हामी स्वयं यसमा दोषी छौ भन्न अयुक्त नहोला ।

अभिभावकहरुको व्यस्ततापूर्ण जीवन ,पारिवारिक समस्या तथा कलह,पारिवारिक कर्तव्यको निर्वाहमा कमी,आफ्ना सन्तानहरुको मनोबैज्ञानिकता बुझ्न नसक्नु र उनीहरुलाई समय दिन नसक्नु नै यसका प्रमुख कारणहरु हुन् ।

तर यी सबै  समस्याहरुसंगै अर्को गहन समस्या अहिलेको बालबच्चाहरुमा अध्यात्मिक तथा धार्मिक  भावनाको कमी हुनु र अभिभावकहरुले उनीहरुमा यो भावना पूर्ण रुपमा जगाउन नसक्नु नै अभिभावकहरुको प्रमुख कमजोरी बन्न गएको छ ।यदि हामीजस्ता अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई सानैदेखि अध्यात्मिक शिक्षा दिएर नैतिक रुपमा उनीहरुलाई सही मार्गदर्शन गर्न सक्यौ भने सायद उनीहरुको गलत पाइलाहरुलाई सुबाटोमा डोहोर्याउन सहायक सिद्ध हुनेछ ।

हाम्रा बच्चाहरुलाई हामीले दिनुपर्ने  शिक्षा र गर्नुपर्ने हरेक कर्तव्यका साथमा यदि  उनीहरुलाई हामीले सानैदेखि अनुशासनको बाटोमा हिडाउन सक्यौ   र उनीहरुमा आध्यात्मिक भावनाको सृजना गर्न सक्यौ भने उनीहरुको सोंचाइमा सकारात्मक रुपमा  वृद्धि हुँदै जान्छ र उनीहरुमा सकारात्मक कुराहरुको प्रभाव पर्नजान्छ  जसको सिधा प्रभाव उनीहरुको जीवनमा पर्दछ र उनीहरुको जीवनमा सकारात्मक निर्णय र सोंचाइको निर्माण हुनपुग्दछ ।

जब बालबच्चाहरुमा सकारात्मक निर्णयको निर्माण हुन्छ तब उनीहरुमा जीवनप्रतिको नैतिक मूल्य -मान्यता अनि दायित्वको पूर्णरुपमा बोध हुनपुग्दछ ।मानवता के हो ? जीवन के हो ? अनि यो जीवन कति अमूल्य छ र यो जीवन सफल रुपमा कसरी जिउने यो सब उनीहरुले प्रत्यक्ष रुपमा अनुभव गर्न वा बुझ्न सक्दछन् ।

जसको फलस्वरूप उनीहरुले आफ्नो जीवनलाई  सरल रुपमा सुबाटोतिर डोहोर्याउन सक्दछन् ।उनीहरुमा व्यक्तिगत विकासका साथै सामाजिक तथा राष्ट्रिय  विकासको पनि भावना जागृत हुनपुग्दछ ।

यसबाट बालबालिकाहरुमा संस्कृति र संस्कारको पनि भावना सृजित हुनपुग्दछ जसको कारण शुद्ध आचरण,असल व्यवहार र सकारात्मक जीवनको विकास हुँदै जान्छ भने अहिलेको समयमा बढ्दै गइरहेको आत्महत्या,कुसंगती तथा कुलत जस्ता अपराधिक  क्रियाकलापमा यिनिहरुको संलग्नतामा पनि कमी हुँदै जान्छ । हामी सबैले यस कुरालाई अत्यन्तै गम्भीर रुपमा लिएर यस दिशामा पाइला चाल्न अति अनिवार्य भएको छ ।

यदि हामीले हाम्रा बालबच्चाहरुको सुनौलो भविष्यको कामना गर्दै उनीहरुलाई सुबाटोमा डोहोर्याउनु छ भने हामी आफै सचेत र जागृत भएर उनीहरुको जीवनको हरेक पक्षलाई भित्री रुपबाट केलाएर आफूले  दिनुपर्ने शिक्षालाई व्यवहारिक रुपमा लागू गर्न अति आवश्यक छ ।तबमात्र एउटा  स्वच्छ परिवारसंगै स्वच्छ र सुन्दर समाज अनि राष्ट्रको निर्माण  हुनपुग्दछ यसमा कुनै दुइमत  छैन् ।

हाम्रा बालबालिकाहरुमा क्षमताको कुनै कमी छैन तर यसलाई निखारेर ,माझेर उनीहरुको जीवनलाई सकारात्मक रुपमा अगाडि बढाउन हामी स्वयं अग्रसर हुनुपर्दछ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै