वाशिमटन डिसी : अमेरिकाको राजधानी वाशिंटन डिसीको मेट्रो क्षेत्रमा स्थापित केसी डान्स सेण्टरले पाँच वर्ष पूरा गरेको छ । विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेर डान्स सेण्टरको पाँचौं वार्षिकोत्सव मनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कृष्ण धरावासीले पानसमा बत्ती बालेर वार्षिकोत्सव उद्धाटन गरेका थिए । सेण्टरका संस्थापक तथा सञ्चालक नविन केसी तथा लुना श्रेष्ठले अतिथिहरुको स्वागत गरेका थिए ।
सो अवसरमा प्रस्तुत साँस्कृतिक कार्यक्रम शिव आराधना नृत्यबाट गरिएको थियो । त्यसपछि सेण्टरका प्रशिक्षार्थीहरुले नेपालको झझल्को दिने विविध नृत्यहरु प्रस्तुत गरेका थिए ।
सेण्टरले सन् २०१७ देखि नियमित रुपमा दशैं तिहारको छेकोमा हरेक वर्ष मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम गर्दै आएको छ । कोरोना महामारीको कारण २ वर्ष कार्यक्रम देखाउन नसकिए पनि गत वर्षदेखि पुनः यसलाई निरन्तरता दिईंदै आएको छ । यस वर्ष अक्टोवर ७ का दिन गरिने पनि सो कार्यक्रममा घोषणा गरियो ।
सो अवसरमा सेण्टरलाई सहयोग पुर्याउने ब्यक्तिहरुलाई प्रमुख अतिथिले सम्मान समेत गरेका थिए । साथै कार्यक्रममा आफ्नो मन्तब्य दिंदै प्रमुख अतिथि कृष्ण धरावासीले परदेशी भूमिमा नेपाली संस्कृतिको जगर्ना गर्न तथा साना बालबालिकालाई नेपालीपन सिकाउन सेण्टरले गरेको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा सुपरिचित अभिनेत्री सारङ्गा श्रेष्ठले पनि मन्तब्य दिएकी थिइन् । सेण्टरले अहिलेसम्म ७०० जनालाई प्रशिक्षण दिइसकेको छ ।
प्रतिक्रिया थप्नुहोस्