काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा परेकाहरुको आजदेखि बयान सुरू हुँदैछ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका १६ सहित ३० जनाविरुद्ध विभिन्न ५ वटा कसुरमा बुधबार अदालतमा मुद्दा दायर गरेको थियो ।
बुधबार अबेर मुद्दा दायर भएको र बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदाका कारण आजबाट प्रतिवादीहरूको बयान सुरू हुन लागेको हो ।
बयान सकिएपछि मात्र थुनछेक बहस सुरू हुनेछ । सरकारी वकिल र १६ जना प्रतिवादीका कानून व्यवसायी बहसमा सहभागी हुनेछन् ।
एकजना प्रतिवादीको बयान गर्न कम्तीमा पनि २–३ घण्टा लाग्नेछ ।
यो प्रकरणमा सचिव, सांसद, पूर्वगृहमन्त्रीजस्ता प्रतिवादी भएका कारण एकै प्रतिवादीले धेरै जना कानूनी व्यवसायीलाई बहसमा उतार्न सक्ने सम्भावना छ।
बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् ।
प्रतिक्रिया थप्नुहोस्