काठमाडौँ प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा आचारसंहिता उल्लङ्घनका घट्नाको प्रवृत्तिगत समस्या केलाउन विज्ञ समूह गठन गरी काम सुरु गरेको छ ।
बरिष्ठ पत्रकारहरु तारानाथ दाहाल, डा महेन्द्र विष्ट र बबिता बस्नेत संलग्न समूहले कार्य प्रारम्भ गरिसकेको काउन्सिलले जनाएको छ । दाहाल र विष्ट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन । बस्नेत सञ्चारीका समूहका पूर्व अध्यक्ष हुन ।
छापा र प्रसारणसँगै डिजिटल सञ्चारमाध्यमबाट सार्वजनिक समाचारका विषयवस्तु, त्यसबारे जनगुनासो, उजुरी, आचारसंहिताको वर्तमान प्रावधान, काउन्सिलको नियमन, आगामी दिनमा चाल्नुपर्ने कदम समेतबारे विज्ञ समूहले अध्ययन गर्नेछ ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारजगतलाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन विज्ञ समूहबाट आउने सुझाव महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।
'सञ्चार माध्यमका आकार, प्रवृत्ति र प्रस्तुतिमा आएका फरकपन, प्रविधिको विकासले अवसरसँगै चुनौती पनि थपेको छ । जनमानसमा गुनासा पनि बढेका छन् । यसलाई सही ढङ्गले सम्बोधन गर्न र काउन्सिलको कामलाई थप व्यवस्थित गर्न यो नौलो अभ्यास थालनी गरिएको हो । र, यो एक श्रृङ्खला मात्र हो,' विज्ञ समूहको मङ्गलबारको बैठकमा अध्यक्ष बस्नेतले भने ।
प्रतिक्रिया थप्नुहोस्